अपहरण गरेर नेपाल ल्याइएका तीन भारतीयको उद्धार

0
162

विराटनगर, २९ माघ । अपहरण गरेर नेपाल ल्याइएका तीन जना भारतीय नागरिकलाई सकुशल रुपमा उद्धार गर्न नेपाल प्रहरी सफल भएको छ । मोरङको सुन्दहरैंचा नगरपालिका ९ का नारायण साहको घरमा बन्धक बनाएर राखेको अवस्थामा उनीहरुलाई चार दिनपछि मात्रै अपहरण मुक्त गर्न सकिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले उनीहरुको उद्धार गरेको छ । उनीहरुलाई शनिबार राति ११ः३० बजे उद्धार गरिए पनि प्रहरीले घटनाका बारेमा आज मात्र विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ । मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीका अनुसार अपहरणमा परेका मध्ये भारतको खगडिया जिल्ला बेन्दोर पञ्चायतका अजयकुमार साह, अखिलेश साह र दिनबन्धु तिवारीलाई सकुशल रुपमा अपहरण मुक्त गरिएको हो । भारतको जोगवनीबाट उनीहरु सहित छ जना यही माघ २४ गते अपहरणमा परेका थिए । बिसीका अनुसार अजयकुमार, अखिलेश र दिनबन्धु सहित राजकिशोर साह, बालेश्वर रजक र रञ्जित कुमारलाई एकै पटक अपहरण गरेर नेपाल ल्याइएको थियो । जोगवनीबाट ल्याएपछि उनीहरुलाई राति ९ बजे सुन्दरहरैंचा १० स्थित मोनालीसा होटेलमा १०१ र १०२ नम्बरको कोठा बुक गरेर राखिएको प्रहरीले जनाएको छ । अपहरणमा परेका मध्ये राजकिशोर माघ २५ गते बिहीबार साँझ होटेलबाट भाग्न सफल भएपछि घटना बाहिर आएको हो । होटेलबाट उम्किएर भारत पुगेका उनी साथीहरु लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा आएपछि प्रहरीले घटनाका बारेमा थाहा पाएको थियो । अपहरण गरिएका मध्ये बालेश्वर र रञ्जितलाई फिरौती बापत एक लाख भारतीय रुपैयाँ अपहरणकारीलाई बुझाएर छाडिदिएको प्रहरीको भनाइ छ ।पक्राउ परेका विरुद्ध अपहरण तथा शरीर बन्धक मुद्धा दर्ता गर्नका लागि म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । अपहरण गर्ने मुख्य भारतीय गिरोह भने भारततर्फ गइसकेका कारण पक्राउ गर्न नसकिएको प्रहरीले बताएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here