अपहरण गरेर भारत पुर्याएकी महिलाको उद्धार

0
125

विराटनगर, २७ जेठ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ स्थित पथरी बजारबाट दुई सन्तान सहित अपहरण गरेर भारत पुर्याइएकी महिलाको एक महिनापछि सकुशल उद्धार गरिएको छ । भारतीय प्रहरीको सहयोगमा इटहरीमा रहेर महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्दै आएको रिलिफ नेपाल फाउण्डेशन नामक संस्थाले उद्धार गरेर महिलालाई सकुशल नेपाल ल्याएको हो । राम्रो कमाई हुने काममा लगाइदिने प्रलोभन देखाएर ती महिलालाई दुई पुरुषको मिलेमतोमा अपहरण गरेर भारत पुर्याइएको नेपाल प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठका अनुसार काममा लगाइदिने भन्दै भारत पुर्याएपछि मात्रै महिलाले आफू अपहरणमा परेको थाहा पाएकी थिइन । सुनसरीको भन्टाबारी नाका हुँदै उनलाई भारततर्फ लगिएको प्रहरीले जनाएको छ । ती महिला सहित उनका सात र पाँच वर्षका दुई छोरालाई पनि अपहरण गरिएको जानकारी श्रेष्ठले दिनु भयो । घटना अनुसन्धानका क्रममा ती महिलाले आफूलाई राम्रो कमाई हुने काममा लगाइदिने भन्दै अपहरण गरेर भारत पुर्याएर बन्धक बनाउँदै जवरजस्ती बलत्कार गरेको बयान समेत दिएकी छन् । बैशाख २७ गते दुई छोरा सहित उनलाई अपहरण गरिएको प्रहरीले जनाएको छ । उनलाई भारतको हिमान्चल राज्यबाट उद्धार गरिएको हो । पति एवं परिवारका सदस्यसंग राम्रो सम्बन्ध नभएपछि ती महिला छ महिनादेखि माइतीमै बस्दै आएको खुलेको छ । प्रनि श्रेष्ठका अनुसार अपहरणपछि विभिन्न धाक धम्की देखाएर जवरजस्ती करणी गर्ने गरेको पाइएको छ । प्रहरीका अनुसार मानसिक र शारीरिक रुपमा कमजोर बनेको पाइएपछि माइती नेपालको संरक्षणमा ती महिलाको उपचार भइरहेको छ । महिलालाई अपहरण गरेर भारततर्फ लैजाने सुनवर्षी नगरपालिका ४ का ३० वर्षीय शिव यादव र भारतमा बसेर शिवलाई सहयोग गर्ने २२ वर्षीय अरविन्द यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु विरुद्ध अपहरण, शरीर बन्धक तथा जवरजस्ती करणी मुद्धा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here