अमेरिकाको गुआममा चारवटा मिसाइल आक्रमण गर्न उत्तर कोरिया तयार

0
22

काठमाडौं, २६ साउन । उत्तर कोरियाले प्रशान्त महासागरको अमेरिकी टापु गुआममा मिसाइल आक्रमणको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । गुआममा अगस्टको मध्यतिर चारवटा मिसाइल आक्रमण गर्ने तयारी भएको उत्तर कोरियाले दाबी गरेको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनए ले हवासङ–१२ नामक चारवटा रकेट आक्रमणका लागि तयार रहेको बताएको छ । ती रकेट जापानको जमिन तथा समुद्री क्षेत्रमाथिबाट जाने र गुआम भन्दा ३० किलोमिटर पर समुद्रमा खस्ने केसिएनएलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । तर यो आक्रमणका लागि उत्तर कोरियाका नेता किम जोङ–उनले सहमति जनाउनु पर्नेछ । गुआममा अमेरिकी सामरिक बम वर्षक विमानको भण्डारण गरिएको छ । यसैबिच अमेरिकाले आफ्नो विनासको बाटो आफै नबनाउन उत्तर कोरियालाई चेतावनी दिएको छ । अमेरिकी रक्षा मन्त्री जिम म्याटिसले उत्तर कोरियाले पछिल्लो समय गरिरहेको गतिविधि उसकै लागि घातक हुन सक्ने भन्दै आफ्नो विनासको निम्तो आफै गरिरहेको बताउनुभएको हो । उहाँले उत्तर कोरियाको यस्तै गतिविधि रहिरहेमा उसको शासन सत्ताको पतन तथा देशको विनास हुन सक्ने चेतावनी दिनुभएको बिबिसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले आगो तथा आक्रोशसँग खेलिरहेको र यो उसका लागि घातक हुने चेतावनी दिएको भोलिपल्ट रक्षामन्त्री म्याटिसको यस्तो चेतावनी आएको हो । एक महिनाको अवधिमा दुईवटा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको उत्तर कोरियाले अमेरिकाका सबै मूख्य क्षेत्रमा आफूले आक्रमण गर्न सक्ने बताएपछि तनाव बढेको छ ।

Comments

comments

LEAVE A REPLY