अमेरिकामाथि नेपालले कीर्तिमानी जित

काठमाण्डौं, २९ माघ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकामाथि नेपालले कीर्तिमानी जित निकालेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । यससँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो लक्ष्य पूरा गर्दै कीर्तिमानी जित निकालेको छ । विश्वमा भने यो तेस्रो सर्वाधिक छिटो जित हो ।

नेपालको जितमा पारस खड्काले अविजित २० रन जोडे । यस्तै दिपेन्द्र सिंह ऐरीले अविजित १५ रन बनाए । ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा आउट हुँदा अर्का ओपनर सुवास खकुरेल सुन्य रनमा पेभेलियन फर्किए । अमेरिकाका केन्जिगेले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका १२ ओभरमा ३५ रन जोड्दा अलआउट भयो ।

अमेरिकाले बनाएको यो स्कोर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम स्कोरको बराबर हो । यसअघि सन् २००४ मा जिम्बावेले श्रीलंकाविरुद्ध ३५ रन बनाएर सर्वाधिक कम स्कोर बनाउने कीर्तिमान बनाएको थियो ।

नेपाली स्पिनर बलर चम्किएपछि अमेरिकाका लागि जाभियर मार्सलले सर्वाधिक १६ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका सन्दीप लामिछानेले ६ विकेट लिए । सन्दीपले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चिएर ६ विकेट लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *