Tune to BFM 91.2|Biratnagar

अस्पतालबाट हामफालेका बिरामीको मृत्यु

विराटनगर, १९ असोज । विराट नर्सिङ होम एवं विराटनगर अस्पतालको दुई तलामाथिबाट हामफालेर गम्भीर घाइते भएका एक जना बिरामीको मृत्यु भएको छ ।

अस्पतालको आईसीयूमा उपचाररत मोरङको मिक्लाजुङ गाउँपालिका–७ का ५३ वर्षीय अमृत गजमेरले आज बिहान ५ः३० बजेतिर हामफालेको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा बिहान ९ बजे मृत्यु भएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले प्रारम्भिक अनुसन्धानबाट आत्महत्या गर्ने उदेश्यले हामफालेको हुन सक्ने देखिएको बताउनुभयो । गत शनिबार अस्पताल भर्ना गरिएका उनलाई फोक्सोमा गम्भीर समस्या देखिएकोभन्दै चिकित्सकको सल्लाह बमोजिम त्यही दिनदेखि आईसीयूमा राखेर उपचार थालिएको प्रहरीले जनाएको छ ।

गर्मी भएको बहाना बनाउँदै आईसीयूबाट बाहिर निस्किएका गजमेरले दुई तलामाथिबाट हामफालेको जानकारी अस्पतालले प्रहरीलाई गराएको छ । हामफालेपछि गम्भीर बनेका उनलाई उद्धार गरेर अस्पतालकै आईसीयूमा उपचारका लागि भर्ना गरिएको थियो ।

तर केही बेरमै मृत्यु भएको छ । अस्पतालले यस घटनाको आधिकारिक जानकारी दिइसकेको छैन । उपचाररत अवस्थामा उनले किन आत्महत्याको बाटो रोजे भन्ने यकिन हुन नसकेको एसपी खड्काले बताउनु भयो ।

मृत्यु अस्वभाविक देखिएका कारण अत्महत्या हो कि हैन भन्ने बारेमा घटनाको गम्भीर रुपमा अनुसन्धान थालिएको उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button