Tune to BFM 91.2|Biratnagar

आकाशे पुलको निर्माण थाल्न लाग्दा विरोध

विराटनगर, २९ भदौ । जनप्रतिनिधि र स्थानीयको विरोधका कारण विराटनगरका विभिन्न स्थानमा निर्माण गर्ने भनिएका आकाशे पुलको काम रोकिएको छ । पुल निर्माण थाल्न लाग्दा विरोध सुरु भएको छ । सडक यात्रुको सहजता र सुरक्षाका लागि निर्माण कार्य अघि बढाउनलाई गत वर्ष चैतमा आकाशे पुलको शिलान्यास गरिएको थियो । पछिल्लो समय महानगरको प्राविधिक टोलीले सर्भे गर्दै विराटनगरको कन्चनबारी, बरगाछी र बसपार्कमा पुल निर्माणको प्रक्रिया अघि बढाएको थियो । तर केही जनप्रतिनिधि र स्थानीयले अवरोध गरिदिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

मेयर भीम पराजुलीले नगरको सुन्दरता र जनताको सुरक्षासंँग जोडिएको पुल निर्माण अघि बढ्न नदिनु आश्चर्यजनक भएको बताउनु भयो । प्राविधिक टोलीले उपयुक्त स्थान चयन गरेपछि पुल निर्माण अघि बढाउन लाग्दा अवरोध भएको उहाँको भनाइ छ । विवादित विषयको हल गरेर पुल निर्माणको काम अघि बढाइने जानकारी पराजुलीले दिनु भएको छ । उहाँले संरचना निर्माणमा असहयोग नगर्न सबैमा अनुरोध गर्नु भएको छ । बरगाछी र बसपार्कमा पुल निर्माणको जिम्मा लिएको कला विल्डर्सका सञ्चालक सञ्जय यादवले अवरोध नभएमा निर्धारित मितिमै काम सकिने बताउनु भयो ।

कोरोना महामारीका कारण शिलान्यास भएको करिब ५ महिनापछि पुलको जग बसाउने कार्य सुरु भएको जानकारी उहाँले दिनु भयो । यादवले बरगाछी र बसपार्कमा पुल निर्माणका लागि भ्याटसहित १ करोड ७९ लाख ८४ हजार रुपैयाँमा सम्झौता भाएको जानकारी दिनु भयो । विराटनगरको घाँस चौकमा प्रदेश सरकार, महानगरपालिका, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रूपमा पुल निर्माण गर्ने भएपछि महानगरपालिकाले बसपार्कतर्फ स्थान परिवर्तन गरेको थियो । पुल निर्माण स्थलमा कलेज, विद्यालय तथा बसपार्क रहेकाले उक्त स्थान उपयुक्त हुने महानगरको दाबी छ । महानगरपालिकाका अनुसार तीनवटा आकाशे पुल निर्माणका लागि २ करोड ४७ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button