आगजनी र विष्फोटमा संलग्न विप्लव कार्यकर्ता पक्राउ

विराटनगर, २८ वैशाख । मोरङमा सडक निर्माणमा प्रयोग गरिएका एक्साभेटरमा आगजनी र बम विष्फोट गरिएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका थप एक जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

किसानचौक–टाँडी–रमिते सडक खण्ड निर्माणमा प्रयोग गरिएका तीनवटा एक्साभेटरमा २०७६ माघ ५ गते राति ९ बजे आगजनी र बम विष्फोट गरेर पूर्ण रुपमा क्षति पुर्याइएको थियो । घटनामा संलग्न रहेको पाइएपछि ‘विप्लव’का कार्यकर्ता रतुवामाई नगरपालिका–८ घर भएका ४० वर्षीय लक्ष्मण न्यौपानेलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी निरीक्षक सुवास राईको नेत्रृत्वमा परिचालित टोलीले न्यौपानेलाई गयराति रतुवामाई क्षेत्रबाटै पक्राउ गरेको जानकारी उहाँले दिनु भयो ।

घटना भएको तीन महिनापछि मात्रै आगजनी र विष्फोट ‘विप्लव’ समूहले गराएको निस्कर्षमा प्रहरी पुगेको हाम्रा सहकर्मी किशोर बुढाथोकीले जनाउनु भएको छ । त्योसँगै घटना भएको लामो समयपछि प्रहरीले ‘विप्लव’का कार्यकर्तालाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउन थालेको छ ।

यही घटनामा संलग्न रहेको भन्दै प्रहरीले वैशाख ८ गते केराबारी गाउँपालिका–६ घर भएका ३८ वर्षीय गोपाल बस्नेतलाई पक्राउ गरेको थियो । धरानबाट पक्राउ गरिएका बस्नेत पनि ‘विप्लव’ समूहमा आवद्ध रहेको र आगजनी एवं विष्फोटमा संलग्न रहेको खुलेको डीएसपी राईले बताउनु भयो ।

यस अघि नै पक्राउ परेका बस्नेतमाथि अनुसन्धान अघि बढाइएपछि ‘विप्लव’ समूहमा आवद्ध रहेर घटनामा संलग्न बनेका न्यौपानेलाई पक्राउ गर्न सकिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जना ‘विप्लव’ कार्यकर्ता विरुद्ध आगजनी र बम विष्फोट मुद्धामा अनुसन्धान अघि बढाइएको डीएसपी राईले बताउनु भयो ।

घटनापछि तीव्र रुपमा काम भइरहेको उक्त सडक खण्ड निर्माण र स्तरोन्नतिको काम निक्कै लामो समय अवरुद्ध बनेको थियो । एक महिनादेखि भने काम सुचारु छ । प्रहरी अनुसन्धानबाट आठ जनाको समूहले घटना गराएको र घटनामा संलग्न सबै जना ‘विप्लव’ समूहमा आवद्ध रहेको खुलेको प्रहरीका एक अनुसन्धान अधिकृतले बताएका छन् ।

उहाले घटना गराउने अन्य छ जनाको खोजी भइरहेको जानकारी दिनु भयो । सडक निर्माणका क्रममा मिक्लाजु गाउँपालिका– १ स्थित रमितेमा राखिएका बा ३ क ४०१२, को १ क ३०३० र बा ३ क ३५४२ नम्बरका एक्साभेटरमा आगजनी र विष्फोट गरेर क्षति पुर्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button