आजदेखि स्वाब परीक्षणको कार्य धरानबाट नै

बिराटनगर १६ चैत । प्रदेश १ र २ का कोरोना भाइरसका सम्भावित संक्रमितलाई लक्षित गरेर सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला स्थापना गरिएको छ । कोरोना भाइरसको आशंका गरिएका बिरामीकोे स्वाब परीक्षण अब आजदेखि धरानमा नै हुनेछ ।

प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा. सञ्जीवकुमार शर्माले प्रयोगशालाबाट दैनिक १२ जनाको स्वाब परिक्षण गरिने बताउनु भएको छ । ल्याबको क्षमता भने अधिकतम उपयोग गर्दा दिनमा ३० वटासम्म परीक्षण गर्न सकिने प्रतिष्ठानले जनाएको छ । ‘कोरोना भाइरसको आशंका गरिएका बिरामीको आजदेखि प्रतिष्ठानमा तयार भएको ल्याबबाट स्वाब परीक्षणको कार्य सुरु हुनेछ,’ शर्माले भन्नुभयो ‘त्यसका लागि आवश्यक तयारी पूरा भएको छ ।

’ यसअघि कोरोना संक्रमणको परीक्षण काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्र हुँदै आएको थियो । कोरोना भाइरस अब धरानमा नै हुने भएपछि स्वाब संकलन गरी काठमाडौं पठाउनुपर्ने बाध्यता हट्नेछ । स्थापित प्रयोगशालाको परीक्षण पुष्टि गर्न सुरुवातमा पुनःपरीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउने तयारी छ ।

केही परीक्षणहरू काठमाडौं पठाएपछि त्यसमा समानता आएमा धरानको परीक्षणले मान्यता पाउनेछ । प्रतिष्ठानले अहिलेसम्म २० जनाको कोरोना परीक्षण गर्न नमुना पठाएकोमा सबैको नेगेटिभ आएको छ । प्रतिष्ठानमा अहिले ७ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button