आज बकर ईद

विराटनगर, १७ साउन । आज इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईद मनाइँदै छ । इदुल फित्र अर्थात रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने गरिएको छ ।

हिजरी संवत अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको इस्लामिक संघ प्रदेश १ का अध्यक्ष जुलफकार अलिले बताउनुभयो ।


आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । तर कोरोना भाइरस संक्रमणको जोखिम भएकाले घरमै बसेर नमाज पढ्न राष्ट्रिय मुस्लिम आयोगले सबैलाई आग्रह गरेको छ ।

नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । इस्लाम धर्मावलम्बीले विभिन्न जनावरको बली दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने गरिएको छ ।

यसै विच राष्ट्रपति विद्यादेवी भण्डारीले बकर ईद सद्भाव र शुभेच्छा आदानप्रदानको महत्वपूर्ण चाड भएको बताउनुभएको छ ।

आज सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुलाई शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले सामूहिकरूपमा नमाज पढ्दै एक आपसमा शुभकामना साटासाट गर्ने हुँदा यस परम्पराले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचारा अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिनुभएको छ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पनि बकर ईदको शुभकामना दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button