आठ लाख मूल्य बराबरको तस्करीको औषधि र मास्क बरामद

विराटनगर, २१ जेठ । विराटनगर महानगरपालिका–१६ बाट प्रहरीले ठूलो परिणाममा तस्करीको औषधि र मास्क बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय रानी र क्षेत्रीय अनुसन्धान समूहको संयुक्त टोलीले छापा मारेर सीता तामाङको खाली घरमा बाहिरबाट ताला लगाउँदै लुकाएर राखेको अवस्थामा औषधि र कपडाको मास्क बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले औषधि भारतबाट नेपालमा र मास्क नेपालबाट भारततर्फ तस्करी हुने गरेको पाइएको बताउनु भयो । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि ‘लकडाउन’ गरेर नेपाल–भारत आवतजावतम रोक लगाइएको छ ।

तर यस्तो अवस्थामा भन्सार छली गर्दै औषधि र मास्कको तस्करी भइरहेको पाइएको छ । प्रहरी निरीक्षक थापाले सीमा क्षेत्रमा मानिसको आवतजावत रोक्न खटिएका सुरक्षाकर्मीलाई छल्दै तस्करी हुने गरेको पाइएको बताउनु भयो ।

बरामद भएको औषधि र मास्क आठ लाख २८ हजार नौ सय ९५ रुपैयाँ मूल्य बराबरको रहेको जानकारी थापाले दिनु भयो । उहाँकाअनुसार बढी मात्रामा इन्जेक्सन आइटमका औषधि र नौ बोरा मास्क बरामद भएको हो ।

बरामद भएका औषधिमा टाइजेबेस्ट, बक्सल्टन, ह्युमेन रेविज इमिनोग्लोवुलिन, भासपे्रसन इन्जेक्सन, ल्याबेटालोल इन्जेक्सन, म्यारोपेनेन इन्जेक्सन छन् ।

औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख सञ्जीव कट्टेलले प्रहरीले बरामद गरेका औषधि शरीर भित्र हुने संक्रमण रोक्न तथा मुटुको समस्या भएका बिरामीले र बच्चा जन्माउने बेलामा प्रशव पीडा भएका महिलाहरुमा प्रयोग गर्न मिल्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button