इजाजत पत्रको दुरुपयोग गरेर काठ तस्करी

विराटनगर, ६ साउन । डिभिजन वन कार्यालयले ओसारपसारका लागि दिने इजाजत पत्र (छोड पूर्जी) को दुरुपयोग गरेर मोरङमा काठ तस्करी भइरहेको नयाँ रहस्य बाहिर आएको छ । छोड पूर्जीमा निकासी गर्ने भनेर उल्लेख गरेको भन्दा अरु नै प्रजातिका काठ ढुवानी गरेर तस्करी भइरहेको हो ।

रहरीले गत आइतबार राति कटहरी गाउँपालिका–१ बाट ठूलो परिणामको काठ बरामद गरेर कारबाहीका लागि वन कार्यालयमा बुझाएको छ । वनले अनुसन्धान अघि बढाउँदा इजाजत पत्रको दुरुपयोग गर्दै पत्रमा उल्लेख भएभन्दा अरु प्रजातिको काठ निकासी गर्ने गरेको फेला पर्यो ।

तस्करीको काठ भएको हुन सक्ने आशंकामा विराटनगरतर्फ ल्याउँदै गर्दा गोलीया लोड गरेको को २ त ३२४८ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिएर वन कार्यालयलाई बुझाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनु भयो ।

सिमल, पिठारी र कदमको गरेर एक सय २० क्यूफिट काठ प्रहरीले बरामद गरेको हो । प्रहरीले ट्रयाक्टर चालक रंगेली नगरपालिका–३ का २७ वर्षीय मेघनाथ मण्डल र विराटनगर महानगरपालिका–६ का २० वर्षीय ओमप्रकाश यादवलाई पनि पक्राउ गरेको थियो ।

एसपी खड्काले पूर्जीमा उल्लेख भएअनुसार काठको परिणाम नभएकाले र पूर्जीको म्याद नै सकिएको तथा इजाजत दिएको भन्दा अरु नै प्रजातिका काठ ओसार्ने गरेको पाइएपछि ट्रयाक्टर नियन्त्रणमा लिइएको बताउनु भयो ।

प्रहरीले काठसँगै नियन्त्रणमा लिएको छोड पूर्जी असार १२ गते चार सय ३१ क्यूफिट काठका लागि जारी देखिन्छ । डिभिजन वन कार्यालयले १० दिनको मात्रै म्याद राखेर काठ ओसारपासरका लागि इजाजत दिने गर्छ ।

डिभिजन वन कार्यालय मोरङका अनुसन्धान अधिकृत परमेश्वर पासवानले म्याद सकिएको पूर्जीको प्रयोग गर्दै त्यहाँ उल्लेख भएभन्दा अरुनै प्रजातिका काठ ओसारपसार गरेर तस्करी हुने गरेको पाइएको बताउनु भयो । म्याद सकिएको पूर्जी प्रयोग गरेर इजाजत लिएको भन्दा अरु प्रजातिका काठ ओसारपसार भएको उहाँको भनाइ छ ।

पूर्जीमा कदम, आँप, सिरिस (गोल्डमोहर) का काठको इजाजत लिएको भए पनि त्यहाँ उल्लेख भएभन्दा बाहिरका प्रजाति सिमल, पिठारी र कदमको काठ ओसापसार भएको भेटियो पासवानले बताउनु भयो ।

काठसहित पक्राउ गरिएकाहरुलाई वन ऐन २०७६ अनुसार मुद्दा चलाउन आज म्याद थप गरेर अनुसन्धान अघि बढाइएको उहाँको भनाइ छ । उहाँकाअनुसार पक्राउ परेकाहरुले राजकुमार साहले आफूहरुलाई काठ ढुवानी गर्न लगाएको बताएका छन् ।

तर प्रहरीले काठ नियन्त्रणमा लिएपछि साह फरार रहेकाले खोजी भइरहेको वन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button