इलाका प्रहरी कार्यालय रानी नयाँ भवनमा

विराटनगर, २ कात्तिक । विराटनगरको इलाका प्रहरी कार्यालय रानीको काम कारबाही नयाँ र सुविधा सम्पन्न भवनबाट सुरु भएको छ ।

कार्यालय पुरानै ठाउँमा रहेको स्थान विराटनगर महानगरपालिका–१६ मा नयाँ भवन बनेपछि काम कारबाही त्यहाँबाट सुरु भएको हो । यसअघि जीर्ण र पुरानो भवनबाट जोखिम मोलेर काम गरिरहेको अवस्थामा गत असारदेखि नयाँ भवन निर्माण थालिएको थियो ।

युुनोस नामक संस्थाको फर्निचर र आवश्यक सामग्रीसहित सात करोड ५० लाख रुपैयाँको लागतमा नयाँ भवन तयार भएको हो । नयाँ भवनको निर्माण सुरु भएदेखि सीमा प्रहरी चौकीबाट इलाकाको काम कारबाही सञ्चालन भइरहेको थियो ।

संरचना अपुग हुँदा सीमाको भवनबाट अपराध अनुसन्धान र नियन्त्रणको काम गर्न निक्कै समस्या भोग्नुपर्ने अवस्थामा प्रहरीमा थियो । विराटनगर जुट मिल्सको जीर्ण भवनलाई सुरक्षामा खटिने प्रहरीले ब्यारेकको रुपमा प्रयोग गर्नुपर्ने अवस्था थियो । भारतीय सीमावर्ती क्षेत्र रानीमा अपराधका घटना धेरै हुने गर्छन् ।

रानी मोरङमा अत्याधिक मुद्दाको अनुसन्धान गर्नेमध्येको एउटा प्रहरी युनिट हो । भारतसँगको खुल्ला सीमानाका कारण हुने लागुऔषधको ओसारपसार र कारोबार नियन्त्रणका सवालमा इलाका प्रहरी कार्यालय रानीबाट जिल्लामै लागुऔषध सम्बन्धी मुद्दाको अनुसन्धान धेरै हुने गरेको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले संरचना अभावले जटिलता उत्पन्न भइरहेका बेला नयाँ र सुविधा सम्पन्न भवन तयार भएपछि काम कारबाही सुरु गरिएको जानकारी दिनु भयो ।

उहाँका अनुसार नयाँ भवनमा पुरुष, महिला र बालबालिका गरेर अपराधमा संलग्न ५० जना थुनुवालाई अनुसन्धानका क्रममा राख्न मिल्ने तीनवटा सुविधासम्पन्न हिरासत कक्ष छन् । नयाँ संरचनामा प्रहरीका लागि तीन तले ब्यारेक भवन र प्रशासनीक काम कारबाही गर्ने दुई तले भवन छ । आठवटा शौचालय र छुट्टै मेस पनि रहेको थापाले बताउनु भयो ।

भवनको २०७६ साल असारमा तत्कालिन प्रदेश १ प्रहरी प्रमुुख डीआईजी (हाल अवकाश प्राप्त आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले सिलान्यास गर्नु भएको थियो ।

नयाँ भवनबाट प्रहरीको काम कारबाही सुरु भए पनि औपचारिक रुपमा उद्घाटन भने हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button