उदयपुरमै कोरोना परीक्षण गर्न माग

विराटनगर, ११ वैशाख । उदयपुर जिल्लामा मात्रै २८ कोरोना संक्रमित भेटिएपछि स्थानीय राजनीतिक दलहरूले सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन् ।

उदयपुरको गाईघाटमा बसेको राजनीतिक दलहरूको बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै पर्याप्त स्वास्थ्य सामग्री उपलब्ध गराउन साथै उदयपुरमै परीक्षणको व्यवस्था मिलाउन संघीय सरकारसँग आग्रह गरेका हुन् ।

नेकपा जिल्ला अध्यक्ष विनोद कटुवाल, नेपाली कांग्रेसका जिल्ला सभापति विदुर बस्नेत, समाजवादी पार्टीका अध्यक्ष केशव मगर र राष्ट्रिय जनता पार्टीका केन्द्रीय सचिव खेमनारायण यादवले संयुक्त विज्ञप्ति जारी गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरमै परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

संक्रमितको सम्पर्कमा आएका सबैको परीक्षण गर्नसमेत आग्रह गरेका छन् । उदयपुर डेन्जोर जोन बनेकोभन्दै विशेष चासो दिएर उदयपुरमै परीक्षण हुनु पर्ने नेकपा अध्यक्ष कटुवालले बताउनुभयो ।

यसैबीच नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई फोन गरी उदयपुर जिल्लामा केन्द्रीय स्तरको विशेषज्ञ टोली खटाउन र कोरोना भाइरस परीक्षण गर्ने पीसीआर मेशिन जडान गर्न सुझाव दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button