Tune to BFM 91.2|Biratnagar

उपभोग्य मुख्य वस्तुको आयात कम भएपछि विराटनगर भन्सारको राजस्व असुली प्रभावित

विराटनगर, ४ कात्तिक । विराटनगर भन्सार कार्यालयले चालु आवको प्रथम त्रैमासिक अवधिमा लक्ष्य भन्दा कम राजस्व संकलन गरेको छ । यो अवधिमा लक्ष्यको तुलनामा ७९ दशमलव २४ प्रतिशतमात्र प्रगति गर्न सकेको हो ।

कोरोनाको विश्वव्यापी कहरका कारण उपभोगमा कमी आएसँगै राजस्व दिने मुख्य वस्तुको आयातमा पनि ह्रास आएपछि कार्यालयको लक्ष्य पुग्न नसकेको हो । कोरोना कहरका कारण भन्सार विभागले कार्यालयको त्रैमासिक लक्ष्य संशोधन गर्दै कुल लक्ष्य नै घटाइदिएपछि प्रगति प्रतिशत धेरै देखिएको हो ।

गत आर्थिक वर्षको त्रैमासिक अवधिमा कार्यालयको लक्ष्य १३ अर्ब ९४ करोड ३१ लाख रहेकोमा चालु आवको सोही अवधिमा १० अर्ब १ करोड १८ लाख मात्र राखिएको थियो । कार्यालयले गत आवको असोज मसान्तसम्ममा लक्ष्यका तुलनामा ६० दशमलव ८० प्रतिशत प्रगति हासिल गरेकोमा चालु आवको सोही अवधिमा ७९ दशमलव २४ प्रतिशत प्रगति गरेको छ। अघिल्लो आवका तुलनामा चालु आवमा प्रतिशतमा प्रगति धेरै देखिए पनि सङ्कलित वास्तविक रकम भने गत आवका तुलनामा कम छ ।

कार्यालयले चालु आवको ३ महिनामा ७ अर्ब ९३ करोड ३० लाख रुपैयाँ असुल गरेको छ । अघिल्लो आवको सोही अवधिमा कार्यालयले ८ अर्ब ४७ करोड ७३ लाख सङ्कलन गरेको थियो । कार्यालयले उक्त अवधिमा भन्सार महसुलबाट ३ अर्ब ७१ करोड ५४ लाखको लक्ष्यमा ३ अर्ब १७ करोड २ लाख, भ्याटबाट ५ अर्ब ३७ करोड ६२ लाखको लक्ष्यमा ३ अर्ब ८२ करोड ७८ लाख र अन्तःशुल्कको ६१ करोड १० लाखको लक्ष्यमा ४६ करोड ३८ लाख असुल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button