Tune to BFM 91.2|Biratnagar

ऋषिपञ्चमी पर्व मनाइदै, नदी, ताल, तलाउ, पोखरीमा स्नान गर्न प्रतिबन्ध

विराटनगर, ७ साउन । आज भाद्र शुक्ल पञ्चमी अर्थात ऋषिपञ्चमी । सप्तर्षिको पूजा गरेर मनाइँदैछ ।

हरितालिका तीज जत्तिकै महत्वपूर्ण मानिने आजको दिनमा हिन्दु नारीहरुले बिहानै उठेर नजिकको नदी, खोला, ताल, वा पोखरीमा गई ३ सय ६५ वटा दतिवनले दाँत माझेर, गाईको गोबर, माटो, तील लगाई स्नान गर्ने र चोखो लुगा लगाई मध्यान्हमा अरून्धतीसहित सप्तर्षिको पोडशोपचार विधीले पूजा गरी ब्राह्मणलाई दानदक्षिणा दिने गर्छन ।

यसरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रमा उल्लेख रहेको छ । नारीलाई रजस्वलाको प्रथम दिन चण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ ।

ऋषिहरूको पूजा गर्दा विवाहित महिलाहरूले अटल सौभाग्यका लागि सौभाग्यसूचक चुरा, धागो, सिन्दूर, पोते पनि चढाउँछन । सप्तऋषिहरू कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ तथा पति व्रता अरुन्धतीको पूजा गर्नाले महिलाको रजोदोष लगायत अन्य सबै दोष नाश भई यस लोकमा समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने भविष्योत्तर नामक पुराणमा उल्लेख गरीएको छ ।

ऋषिपूजापछि नाचगान तथा भजनकीर्तन गरेमा तीजको व्रत पूर्ण हुन्छ भन्ने धार्मिक मान्यता छ । ऋषिपञ्चमी पर्वमा महिलाले नदी, ताल, तलाउ, पोखरी जस्ता स्थानमा स्नान गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको महामारीका कारण घर घरमै स्नान गर्न सरकारले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button