Tune to BFM 91.2|Biratnagar

ओली अराजक बन्दै गए : डा .कोइराला

विराटनगर, ३ माघ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली अराजक बन्दै गएको आरोप लगाउनुभएको छ । आज विराटनगरमा आयोजित मानवअधिकार तथा शान्ति समाजको साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैै कोइरालाले प्रधानमन्त्री अराजक बन्दै गएको आरोप लगाउनुभएको हो ।

ओलीलाई स्वेच्छाचारी र अराजक बनाउन माधव नेपाल र प्रचण्डको पनि भूमिका रहेको कोइरालाको भनाइ छ । मैले जे बोलें त्यही हो संविधान र कानुन भन्ने ओलीको मनसाय नेपाली जनताले नस्वीकार्ने कोइरालाले स्पष्ट पार्नुभयो । मानअधिकारवादी नेता कृष्ण पहाडीले अदालतले संसद पुनस्र्थापनाको निर्णय गरे हाल देखिएको आधा समस्या समाधान हुने बताउनुभयो ।

अदालतले फोहोर नखाए संसद पुनस्र्थापना हुने पहाडीको दाबी छ । उहाँले संविधानविपरीतको काम गरेर प्रधानमन्त्रीले दलीय व्यवस्थामा निर्दलीय चरित्र देखाएको आरोप लगाउनुभयो । पार्टीका नेता, कार्यकर्ताले काम गर्न नदिएपछि र दलभित्र किचलो भएपछि प्रतिनिधिसभा विघटन गरेको अभिव्यक्ति दिएर प्रधानमन्त्रीले बहुदलीय व्यवस्थामा निर्दलीय चरित्र देखाएको पहाडीको आरोप छ ।

कार्यक्रममा प्रदेश–१ का पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे, जनता समाजवादी पार्टी प्रदेश–१ का संसदीय दलका नेता जयराम यादव, मानवअधिकारवादी सोमराज थापा, महेन्द्र सिटौला, पत्रकार गणेश लम्साललगायतले प्रधानमन्त्रीले असंवैधानिक र अलोकतान्त्रिक कदम चालेकाले सच्याएर नेपालको राजनीतिलाई सहि ट्याकमा ल्याउनुपर्ने धारणा राख्नुभयो ।

यसैबीच साधारणसभाले भेषराज पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उपसभापतिमा धन थापा कार्की, सचिवमा अशोक लामा, सहसचिवमा सीताराम चौलागाईं र कोषाध्यक्षमा डा. जीवन ढकाल सर्वसम्मतबाट चयन हुनुभएको छ । त्यस्तै साधारणसभाले मीनकुमार नवोदित, सावित्री पराजुली, लीलानाथ सुवेदी, पुनमकुमार गुप्ता, अर्जुन थापा, मदन भट्टराई, सुची चौधरी, उर्मिला थापालगायतलाई सदस्यमा निर्विरोध चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button