Tune to BFM 91.2|Biratnagar

कांग्रेसको वडा अधिवेशन स्थगित

विराटनगर, ९ साउन । नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । यसअघि देशभर वडा अधिवेशन साउन १२ गतेका लागि तोकिए पनि आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले स्थगित गर्ने निर्णय गरेको हो । ‘साउन १२ को वडा अधिवेशन स्थगन गर्ने सल्लाह पदाधिकारी बैठकमा भएको छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयोे, ‘अब कहिले गर्ने भन्नेमा पछि निर्णय हुन्छ ।’ प्रवक्ता शर्माले महाधिवेशन कार्यतालिका प्रभावित भएपनि भदौ १६ देखि सुरु हुने केन्द्रीय महाधिवेशनका बारेमा कुनै निर्णय नभएको बताउनुभयो ।

‘वडा अधिवेशन स्थगन हुनुको अर्थ केन्द्रीय महाधिवेशन पनि सर्छ भन्ने होइन,’ उहाँले भन्नुभयोे, ‘अहिले केन्द्रीय महाधिवेशनको मिति यथावत नै छ ।’ वडा अधिवेशन स्थगन भएसँगै कांग्रेसको महाधिवेशन कार्यतालिका पनि प्रभावित भएको छ । कांग्रेसले साउन १२ मा वडा अधिवेशन, साउन १६ मा स्थानीय तहको अधिवेशन, साउन २० मा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन गर्न गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।

त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन साउन २३, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६, प्रदेश अधिवेशन भदौ १ र २ गते र केन्द्रीय महाधिवेशन भदौ १६–१९ मा हुने कार्यतालिका थियो । क्रियाशील सदस्यताको काम कार्यतालिका अनुसार नहुँदा महाधिवेशन प्रभावित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button