कालो सिसा लगाउने १८ सवारी कारवाहीमा

0
97

विराटनगर, २५ असार । नियम मिचेर निजी तथा भाडाका सवारी साधनमा कालो सिसा लगाउने १८ वटा सवारी साधन पछिल्लो समय कारवाहीमा परेका छन् । पूर्व क्षेत्रीय ट्राफिक प्रमुख एसपी राजकुमार लम्साल र प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालको निर्देशनमा कालो सिसा लगाउने सवारी साधनमाथि कारवाही गरिएको हो । अति विशिष्ट र विशिष्ट व्यक्तिहरुले चढ्ने गाडीमा मात्रै लगाउन पाइने कालो सिसा निजी, सरकारी तथा भाडाका सवारी साधनले पनि लगाएर दुरुपयोग गर्ने क्रम बढेको भन्दै सडकमा ट्राफिक प्रहरीले सक्रियता बढाएको छ । कालो सिसा लगाएर कुदाइने साना चार चक्के सवारीको संख्या पछिल्लो समय बढेको निस्कर्ष ट्राफिक प्रहरीले निकालेको छ । नियम विपरित कालो सिसा लगाउने सवारी साधनमाथि कडाई गर्न थालिएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले बताउनु भयो । उहाँका अनुसार सेतो सिसा भएका सवारी साधनमा पनि स्टिकर टाँसेर कालो बनाउने गरिएको छ । लम्सालका अनुसार ट्राफिक प्रहरीले सवारी साधनमा लगाइएका कालो सिसा हटाउने र त्यस्ता सवारी साधनमाथि आगामी दिनमा सिसा प्रयोगमा कानुन नमिच्न चेतावनी दिएर कारवाही अघि बढाउने गरिएको छ । कालो सिसा लगाउने सवारी साधनलाई नेपाल प्रहरीको सहयोगमा ट्राफिक प्रहरीले पाँच सय देखि एक हजार पाँच सय रुपैयाँ सम्म जरिवाना गर्ने गरेको छ । प्रहरीले कालो सिसा लगाइएका गाडी भित्र अपराधिक गतिविधी र अनेकौं धन्दा पनि हुने गरेको विभिन्न घटनाक्रमले देखाइसकेको जनाएको छ । डीआईजी रिजालले कालो सिसा लगाउँदा बाहिरबाट केही पनि नदेखिने भएकाले गाडी भित्र अवैध सामान ओसारपसार हुन सक्ने, मानिसको अपहरण हुन सक्ने, हतियार ओसारपसार हुन सक्ने, गाडी भित्र बलत्कार हुन सक्ने, अपराधमा संलग्नलाई भाग्न सहज हुने, गाडी भित्र बसेर अरुको रेकी गर्न सहज हुने भएका कारण अवैध काम रोक्न कालो सिसा प्रयोगमा कडाई गर्ने काम भइरहेको बताउनु भयो । रिजालले अरुलाई रवाफ देखाउन तथा शोखले गाडीमा कालो सिसा राख्नेहरुले त्यसको असरका बारेमा बुझ्न जरुरी रहेको बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here