केराबारी गाउँपालिका कार्यालयमा प्रेसर कुकर बम विष्फोट

विराटनगर, ११ माघ । मोरङको केराबारी गाउँपालिका कार्यालयमा गयराति अज्ञात समूहले शक्तिशाली बम विष्फोट गराएको छ । कार्यालयको मुख्य गेटमै राति १० बजे प्रेसर कुकर बम विष्फोट गराइएको गाउँपालिका प्रमुख रोहित कार्कीले बताउनु भयो । उहाँकाअनुसार वडा नम्बर १० मा रहेको गाउँपालिकाको मुख्य कार्यालयमा विष्फोट भएसँगै रातको समयमा स्थानीयबीच भागदौड मच्चिएको थियो । घटनापछि त्यहाँको जनजीवन आतंकित बनेको कार्कीले बताउनु भयो । उहाँले घटनामा भौतिक क्षति भए पनि कुनै मानविय क्षति भने नभएको जानकारी दिनु भयो । विष्फोट कसले र किन गराएको हो भन्ने यकिन भइनसकेको प्रहरीको भनाइ छ । यद्यपीे नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको प्रतिबन्धित नेकपाले घटना गराएको हुन सक्ने आशंका गरिएको छ । घटनास्थलमा तत्काल विप्लव वा अन्य कुनै समूहले विष्फोट गराएको आधार तथा संकेत भने फेला नपरेको र घटनाको अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताउनु भयो । उहाँले विष्फोट गराउनेको खोजीका लागि प्रहरीको विशेष टोली परिचालन भइसकेको जानकारी दिनु भयो । विष्फोटबाट कार्यालयको जेनेरेटर, पर्खाल, झ्याल, सीसी क्यामेरा, १० वटा झ्याल तथा ढोका र कार्यालय नजिकै राखिएको स्थानीयको एउटा स्कुटरमा क्षति पुगेको डीएसपी थापाले बताउनु भयो । विष्फोटमा २० लाख बढीको क्षति पुगेको प्रहरीको अनुमान छ । बम विष्फोट गराइएको ठाउँभन्दा लगभग ५० मिटर उत्तरमा बम जस्तै अज्ञात वस्तु फेला परेपछि स्थानीय बासिन्दा थप आतंकित बनेका छन् । घटनास्थल नजिकैको सडकमा डोरीले बेरेर तार बाहिर निकालिएको अज्ञात वस्तु फेला परेपछि बम भएको आशंकामा स्थानीय त्रसित बनेको गाउँपालिका अध्यक्ष कार्कीले बताउनु भयो । प्रहरीले उक्त स्थानलाई आफ्नो नियन्त्रणमा लिएर वरपर भेलाजम्मा भएका सर्वसाधारणलाई त्यहाँबाट हटाएर सुरक्षित ठाउँतर्फ पठाउने काम गरिरहेको डीएसपी थापाले बताउनु भयो । प्रहरीले उक्त वस्तु सुतली बम भएको हुन सक्ने आशंका गरेको छ । घटनास्थलमा पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई डिस्पोज गर्ने तयारी गरिरहेको जानकारी थापाले दिनु भयो । केही दिन अघि मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेमा पनि बम विष्फोट गराएर सडक निर्माणमा प्रयोग गरिएको तीनवटा एक्साभेटरमा आगजनी गरिएको थियो । गत आइतबारराति भएको घटनापछि मोरङको किसान चोक–रमिते–आइतबारे १८.५ किलोमिटर सडक स्तरोन्नति र कालोपत्रेको काम रोकिएको छ । प्रदेश १ सरकारको ५८ करोड लगानीमा शर्मा–भीमेश्वर जेभी कन्सट्रक्सनले मंसिरबाट सडकको काम गरिरहेको थियो । आगजनीबाट को १ क ३०३० नम्बर र अरु दुईवटा लिङ्कङ् ९२२ र क्याट ३२० लेखिएका अनटेस्ट एक्साभेटरमा पूर्ण रुपमा क्षति पुगेको थियो । उक्त घटना कसले गराएको भन्ने यकिन भइनसकेको अवस्थामा फेरि गाउँपालिकामा अर्को विष्फोटको घटना गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *