Tune to BFM 91.2|Biratnagar

कोरोनाका कारण रौतहटका ३६ वर्षका पुरुषको मृत्यु

विराटनगर, ३१ असार ।नेपालमा कोरोना भाइरस (कोभिड—१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटका ३६ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उनी दाईको दाहसंस्कार गर्न केही समयअघि भारतको मुम्बई गएका थिए । उनका दाई पनि कोरोनाकै कारण मृत्यु भएको थियो । भारतबाट फर्किएपछि स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टिनमा रहेकै अवस्थामा स्वस्थ्यमा समस्या आएको थियो ।

असार २९ गते स्वास प्रस्वासमा समस्या आएपछि उनलाई नारायणी अस्पतालमा भर्ना गरिुएको थियो । सोही दिन नमुना संकलन गरी हेटौडा प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको थियो । आइसियुमा उपचारकै क्रममा रहेका उनको आज दिउँसो निधन भएको हो । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

आज नेपालमा थप १ सय १६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ । जसमा ११ हजार २५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

आज मात्रै ६ सय ९७ जना डिस्चार्ज भएको उहाँले बताउनुभयो । अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा १ हजार १ सय १३ जना उपचाररत रहेका छन् । प्रदेश १ मा आज ५ जना कोरोना संक्रमित थपिएका छन् ।

३ पुरुष र २ महिलामा संक्रमण देखिएको छ । आज संक्रमण देखिएकामा इलामका २, धनकुटा, मोरङ र ताप्लेजुङका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार इलामको सुर्योदय नगरपालिका २ महिला, धनकुटाको महालक्ष्मी, मोरङको सुनबर्षी र ताप्लेजुङको मेरिङ्देनका १–१ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ४१ पुगेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button