कोरोनाका कारण २२ हजार बढीको मृत्यु

विराटनगर, १३ चैत । विश्वमा महारामारीको रुपमा तीब्र गतिमा फैलिरहेको कोभिड–१९ का कारण मृत्यु हुने र संक्रमितको संख्या बढिरहेको छ । १९८ राष्ट्र प्रभावित भएका छन् । नेपाली समय अनुसार आज साँझ साढे ५ वजे सम्म विश्वभर २२ हजार २६ जना को मृत्यु भएको छ ।

४ लाख ८७ हजार ४ सय ५२ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । १ लाख १७ हजार ५ सय ८२ जना उपचारपछि घर फर्किएका छन् । चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरू भएपनि अहिले युरोप यसको केन्द्रविन्दु बनेको छ ।

सबैभन्दा धेरै मानिसको मृत्यु इटालीमा भएको छ । थप ६ सय ८३ जनाको मृत्यु भएपछि त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ । इटालीमा दैनिक मृत्युदर निकै डरलाग्दो अवस्थामा छ । हाल ७४ हजार ३ सय ८६ जना सङक्रमित रहेको इटालीमा ९ हजार ३ सय ६२ जना उपचारपछि घर फर्किएका छन् ।

स्पेनमा पनि मृत्यु हुनेको संख्या बढिरहेको छ । त्यहां थप ४ सय ४२ जनाको मृत्यु भएपछि मृतकको संख्या ४ हजार ८९ पुगेको छ । ५ हजार बढी उपचार पछि निको भएका छन् । मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको संक्रमण डरलाग्दो अवस्थामा छ । त्यहाँ कोरोनाकै कारण २ हजार २ सय ३४ जनाको मृत्यु भएको छ ।

जर्मनीमा २ सय २२ जनाको मृत्यु भएको छ भने ३९ हजार ५ सय २ जना संक्रमित छन् । अमेरिकामा १ हजार ३६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६८ हजार ५ सय ९४ पुगेको छ । फ्रान्समा १ हजार ३ सय ३१ जनाको मृत्यु भएको छ । २५ हजार २ सय ३३ जना संक्रमित छन् ।

दक्षिण कोरियामा कोरोनाका कारण १ सय ३१ जनाको मृत्यु भएको छ भने ९ हजार २ सय ४१ जना संक्रमित छन् । यस्तै बेलायतमा कोरोनाका कारण ४ सय ६५ जनाको मृत्यु र संक्रमितको संख्या ९ हजार ५ सय २९ पुगेको छ । यता भारतमा १४ जनाको मृत्यु र संक्रमितको संख्या ६ सय ९४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button