Tune to BFM 91.2|Biratnagar

कोरोनाको कारण विश्वभर ३ लाख १६ हजार ९ सय ८३ जनाको मृत्यु

विराटनगर, ५ जेठ । कोरोना भाइरसको संक्रमणका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ३ लाख १६ हजार ९ सय नाघेको छ । आज साँझ सम्म मृतकको संख्या ३ लाख १६ हजार ९ सय ८३ पुगेको छ ।

करिब ४८ लाख २० हजार संक्रमित मध्ये १८ लाख ६६ हजार भन्दा बढी मानिस उपचारपछि घर फर्किएका छन् । अमेरिकामा संक्रमित १५ लाख २७ हजार मध्ये करिब ९१ हजारको मृत्यु भएको छ । बेलायतमा ३४ हजार ६३६ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ भने संक्रमितको संख्या २ लाख ४३ हजार ६ सय पुगेको छ ।

फ्रान्समा २८ हजार १०८, स्पेनमा २७ हजार ६५० को ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण विश्वमा ३ हजार ६१२ जनाको मृत्यु भएको छ । अघिल्लो दिन ४ हजार १६३ संक्रमितको मृत्यु भएको थियो ।

यसैवीच मृत्युदरमा लगातार कमी आएसँगै इटाली र स्पेनसहित युरोपेली मुलुकहरु सामान्य अवस्था तर्फ उन्मुख हुँदै गएका छन् । इटालीमा दुई महिना लामो समयको लकडाउनपछि सोमबारबाट रेष्ट्ररेन्ट, बार, क्याफे र पसलहरु खोल्नका लागि अनुमति दिइएको छ । यद्यपि, सामाजिक दूरी भने कायम गर्नुपर्ने स्थानीय अधिकारीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण इटालीमा १ सय ४५ जनाको मृत्यु भएको छ । इटालीमा मृतकको संख्या ३१ हजार ९ सय ८ पुगेको छ भने २ लाख २५ हजार बढी संक्रमित छन् । स्पेनमा पनि मड्रिड र बार्सिलोना बाहेकका स्थानमा १० जनासम्म भेला भएर भेट गर्न दिइएको छ । स्पेनमा २७ हजार ६ सय ५० जनाले ज्यान गुमाएका छन् ।

यद्यपि, स्वास्थ्य अधिकारीहरुले भने भाइरस प्रति मौन बस्ने हो भने दोस्रो पटक पनि संंक्रमणको लहर फैलिन सक्ने चेतावनी दिएका छन् ।

यस्तै, बेलायतमा पनि कडा सतर्कताकाबीच आजबाट प्राथमिक र माध्यमिक तहका विद्यालयहरु पुनः सुरु हुने बीबीसीले उल्लेख गरेको छ । यी बाहेक पोर्चुगल, ग्रीस, डेनमार्क र आयरल्याण्ड लगायत मुलुकहरुमा भने लकडाउन खुकुलो बनाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button