On Air BFM 91.2|Biratnagar

कोरोनालाई कम नआँक्न डा. कार्कीको आग्रह

विराटनगर, २२ भदौ । कोरोना भाइरसको कारण गम्भीर विरामी परेर निको भएका विराटनगरका चिकित्सक डा. ज्ञानेन्द्रमानसिंह कार्कीले कोभिड–१९ लाई कम नआँक्न आग्रह गर्नुभएको छ । विराट मेडिकल कलेज र विराट नर्सिङ होम विराटनगरका सञ्चालक डा. कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबार यस्तो आग्रह गर्नुभएको हो ।

कोरोना संक्रमणपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै शिक्षण अस्पतालको आईसियु र भेन्टिलेटरमा पुगेका डा. कार्कीको प्लाज्मा थेरापी बिधिबाट उपचार गरिएको थियो ।बेलैमा काठमाडौं आएर उपचार गर्न नपाएको भए आफू बाँच्ने संभावना नरहेको डा. कार्कीको भनाइ छ । डा.कार्कीले पटक–पटक कोभिड १९ लाई कमजोर नआँक्न चेतावनी दिँदै आफूले पुनर्जीवन नै पाएको बताउनुभयो ।

आफूले समयमा राम्रो उपचार नपाएको भए वा उपचारका लागि काठमाडौंमा नआएको भए आफ्नो मृत्यु भएको १८ दिन भइसकेको डा. कार्कीले स्मरण गर्नुभयो । ‘मृत्युको मुखबाट बाँचेर आएको मान्छे हो, म’ उहाँले भन्नुभयो, ‘डाक्टरहरुले कुनै दिन त मलाई माया मारिसकेका थिए, तर भाग्यबस बाँचे ।’ घरमा बेसारपानी खाएर कोरोना ठीक हुन्छ भन्ने भ्रम नपाल्न आग्रह गर्दै डा. कार्कीले झुक्किएर पनि कोभिडलाई ‘अन्डर इस्टिमेट’ नगर्न अपिल गर्नुभयो ।

कोरोनाबाट आत्तिनुपर्ने अवस्था नरहेको भन्दै उहाँले तर ‘अन्डर इस्टिमेट’ गर्नु पनि भयंकर भूल हुने बताउनुभयो ।

कोरोना नियन्त्रणको लागि सरकारले गरेको काम सकारात्मक रहेको र त्यसमा सबै नागरिकले साथ दिनुपर्ने बताउँदै उहाँले मृत्युदर कम हुनु हाम्रो लागि सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.

Call Now Button