कोरोना भाइरसका कारण पानीटंकी नाका बन्द

विराटनगर, ४ बैशाख । भारतको पश्चिमबंगाल सरकारले कोरोना भाइरसको कारण देखाउदै पानीटंकी नाका र सुकीया पोखरी नाका सील गरेको छ ।

पानीटंकी नाका सील हुदा दैनिक चारलाख राजश्व संकलन गर्दै आएको मेची भन्सार कार्यालय समेत प्रभावित बनेको छ । कुनै पनि सवारीसाधनलाई आवतजावतमा पूर्ण रोक लगाउदै भारतीय नाका सील गरेपछि नेपाल तर्फ आउने सामानलाई जोगवनी नाका तर्फ रिरुट गरिएको छ । भारतको पानीटंकी नाका र नेपालको मेची नाका वारीपारी छन ।

त्यस्तै भारतको सुकिया पोखरी नाका नेपालतर्फ पशुपतिनगर नाका पर्छ । पश्चिमबंगाल सरकारले नेपाल तर्फ कुनै जानकारी नै नदिइ आफ्नो भन्सार कार्यालयलाई पत्राचार गर्दै कोरोना भाइरस छिर्न सक्ने भन्दै नाका बन्द गर्न आदेश दिएको हो ।मेची भन्सार नाका भुटान र बंगलादेशसंगको ब्यापारको प्रमुख नाका समेत हो ।

मेची भन्सार कार्यालय काकडभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुबराज विश्वकर्माले पश्चिमबंगाल सरकारले पानीटंकी नाकालाई सील गर्न भनेकाले आफुहरुले कुनैपनि सवारी छिर्न नदिएको त्यहाका अधिकारीलाई उघृत गर्दै बताउनुभयो । पश्चिमबंगाल सरकारको आदेश पालना गराउदै त्यहाको भन्सार विभागले नेपाल प्रवेश गर्ने गाडीहरु भए त्यसलाई रिरुट गरेर लाने अनुमति समेत दिन पत्राचार गरेको छ ।

प्रमुख भन्सार अधिकृत विश्वकर्माले नेपाल स्थित भारतीय दुतावास र भारतको दिल्ली स्थित नेपाली दुतावासलाई अन्तराष्ट्रिय नाका बन्द गरिएको बारे जानकारी गराउनुभएको थियो । दुवै दुतावासले अन्तराष्ट्रिय नाका भएकाले प्रदेशसरकारले बन्द गर्न नसक्ने बताउदै तत्काल समस्या समाधानका लागि कुटनीतिक पहल थाल्ने आवश्वासन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button