Tune to BFM 91.2|Biratnagar

कोरोना भाइरसबाट एक लाख २७ हजार ६ सय ३० को मृत्यु

विराटनगर, ३ वैशाख । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार संसारभर संक्रमितको संख्या २० लाख १५ हजार कटेको हो ।

आज साँझ सम्म कोभिड–१९ बाट संक्रमित भई मृत्यु हुनेको संख्या भने एक लाख २७ हजार ६ सय ३० पुगेको छ । करिब ४ लाख ९२ हजार भने उपचारपछि निको भई घर फर्किएका छन् । सबैभन्दा बढी संक्रमित अमेरिकामा ६ लाख १४ हजार नाघेको छ ।

कोरोनाबाट अमेरिकामा २६ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकाको सबैभन्दा प्रभावित राज्य न्यूयोर्कमा मात्रै १० हजार ८३४ जनाको मृत्यु भएको छ भने त्यहाँ संक्रमितको संख्या २ लाख नाघेको छ । इपिसेन्टर मानिएको न्यूयोर्कमा आज मात्र थप ७७८ जनाको मृत्यु भएको हो । अमेरिकामा पछिल्ला केही दिनयता दैनिकजसो २५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । अमेरिकापछि बढी प्रभावित इटालीमा २१ हजार ६७ जनाको मृत्यु भएको छ । एकैदिन इटालीमा ६०२ जनाको मृत्यु भएको हो ।

त्यहाँ संक्रमितको संख्या एक लाख ६२ हजार नाघेको छ । बेलायतमा १२ हजार १ सयभन्दा बढीको मृत्यु हुँदा करिब ९४ हजार संक्रमित भएका छन् । स्पेनमा १८ हजार ५ सय बढिको मृत्यु हुँदा संक्रमितको संख्या एक लाख ७७ हजार नाघेको छ । फ्रान्समा १५ हजार ७२९ जनाको मृत्यु हुँदा एक लाख ४३ हजारभन्दा बढी संक्रमित भएका छन् ।

यसैगरी इरानमा ४ हजार ६ सय ८३, बेल्जियममा ४ हजार १ सय ५७, जर्मनीमा ३ हजार ४ सय ९५, चीनमा ३ हजार ३ सय ४२, नेदरल्याड्समा २ हजार ९ सय ४५, ब्राजिलमा १ हजार ५ सय ५२, स्वीडेनमा १ हजार ३३ जनाको मृत्यु भएको छ ।

यसैबीच भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ३८ जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरस अर्थात कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३ सय ९६ पुगेको छ । त्यस्तै भारतमा संक्रमित हुनेको संख्या पनि ११ हजार ५ सय नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा एक हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । महाराष्ट्र राज्य भाइरसबाट धेरै प्रभावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button