Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमणबाट विराटनगरकी महिलाको मृत्यु

विराटनगर, १० भदौ । कोरोना भाइरसको संक्रमणका कारण विराटनगर महानगरपालिका–११ मा बस्दै आएकी एक महिलाको मृत्यु भएको छ ।

मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा गयराति ८ बजे ४४ वर्षीया श्रेष्ठ थरकी महिलाको मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि संक्रमित महिलालाई हिजो दिउँसो अस्पतालमा भर्ना गरिएको थियो ।

विराटनगर –१५ मिल्स एरिया घर भए पनि मृतक महिला विराटनगर–११ स्थित माइतीमा बस्दै आएको खुलेको अस्पतालले जनाएको छ ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको केही बेरमै उपचाररत महिलाको मृत्यु भएको विराट शिक्षण अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरले जानकारी दिनु भयो ।

‘सुरुमा श्वासप्रश्वासमा समस्या भयो भनेर ल्याइएका कारण आकस्मिक कक्षमा राखेर उपचार थालिएको थियो,’ उहाँले भन्नु भयो, ‘रिपोर्ट पोजेटिभ आउन साथ शिक्षण अस्पतालकै आइसोलेसनमा भर्ना गर्न नपाइकन महिलाको आकस्मिक कक्षमै मृत्यु भएको हो ।’

विराटका कोभिड फोकल पर्सन डा. पुरु कोइरालाका अनुसार केही दिनदेखि ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएकी महिलामा निमोनियाको पनि समस्या थपिएको पाइएको छ । ‘बिरामीको अवस्था गम्भीर रहेकाले आइसोलेसनमा नलगिकन तत्काल आकस्मिक कक्षमै उपचार थालियोे,’ छात्ती रोग विशेषज्ञ डा. कोइरालाले भन्नु भयो, ‘थप समस्या बढ्दै गएपछि भेन्टिलेटरमा राख्ने तयारी हुँदै गर्दा महिलाको मृत्युु भयो ।’

उहाँका अनुसार भर्ना गर्नुअघि बिरामीका आफन्तले लक्षण मिलेकाले कोरोना परीक्षणका लागि स्वाब दिएको जानकारी गराएका थिए ।

तर कोरोनासँग मिल्ने लक्षण देखिँदा पनि उपचारमा ढिलाई हुने भएकाले आइसोलेसनमा नराखिकन तत्काल आकस्मिकबाटै उपचार थालेर अन्तिम प्रयास गर्दासमेत बिरामीलाई बचाउन नसकिएको डा. कोइरालाको भनाइ छ ।

विराट शिक्षण अस्पतालले गत बिहीबारदेखि संक्रमितको उपचार गर्ने गरी ६० बेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ ।

महिलाको मृत्युसँगै कोरोनाका कारण हालसम्म विराटनगरका ११ जनाले ज्यान गुमाइसकेका छन् । मृत्यु हुनेमा दुई महिला र नौ पुरुष छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button