Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमण हुन नदिन महानगरपालिकाद्धारा पूर्वतयारी सुरु

विराटनगर, २२ फागुन । नोबेल कोरोना भाइरसको संक्रमण हुन नदिन विराटनगर महानगरपालिकाले पूर्वतयारी सुरु गरेको छ ।

महानगरपालिकाले आज पत्रकार सम्मेलन गरी कोरोना नियन्त्रण र सचेतना फैल्याउन समन्वय समिति गठन गरेको जानकारी दिएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा सबै महाशाखाका प्रमुखहरू सदस्य रहने गरी समन्वय समिति गठन गरिएको जानकारी दिनुभयो ।

समन्वय समितिको पहिलो बैठकले गरेका निर्णय सार्वजनिक गर्दै अधिकारीले कोरोनाबारे सूचना र तथ्यांक उपलब्ध गराउन स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीलाई प्रवक्ताको जिम्मेवारी दिइएको बताउनुभयो ।

महानगरपालिकाले कोरोना संक्रमण नियन्त्रणको पूर्वतयारी स्वरुप औषधिहरू स्टक राख्ने, अस्पतालमा आइसोलेसन वेडको प्रबन्ध गर्ने र कोही शंकास्पद भेटिए तत्काल उपचारको व्यवस्था गरिने स्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

भारतसँग सिमाना जोडिएका महानगरका सीमावर्ती क्षेत्रमा विशेष सतर्कता अपनाउने र भारतबाट आउने यात्रुहरूलाई सीमा नाकामा स्वास्थ्य परीक्षणको प्रबन्ध पनि मिलाइएको महानगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button