कोरोना संक्रमितको उपचारका लागि प्रदेश १ मा ११ वटा भेण्टिलेटर तयार

विराटनगर, ९ जेठ । प्रदेश १ का विभिन्न अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि ११ वटा भेन्टिलेटर तयार गरिएको छ ।

यस्तै १२ वटा भेण्टिलेटर थप गर्ने तयारी प्रदेश सरकारले गरिरहेको बताइएको छ ।कोरोना संक्रमितको उपचारका लागि कोशी अस्पताल विराटनगरमा ३ वटा भेण्टिलेटर मेसिन राखेको छ । सुनसरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ८ वटा भेण्टिलेटर कोरोना संक्रमितको उपचारको लागि राखिएको छ ।

प्रतिष्ठानले आगामी आइतबारबाट एकसय बेडको कोभिड १९ उपचार केन्द्र सञ्चालनमा ल्याउने जानकारी दिएको छ । अस्पतालमा भण्टिलेटरको संख्या २० वटा पूर्याउने तयारी भइरहेको उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीका सल्लाहकार दिपिल भट्टराईले बताउनुभयो । एक सय शैय्याको अस्पतालमा तत्काल ५ वटा आइसियू बेड रहेको छ । आवश्यकता अनुसार थप गर्न सकिने बताईएको छ ।

कोशी अस्पताल विराटनगरका फोकल डाक्टर डेनप्रसाद आचार्यका अनुसार विराटनगरमा निर्माण गरिएको ५० शैय्याको कोभिड १९ उपचार केन्द्रमा १० वटा आइसियू बेड राखिएको छ ।अस्पतालमा तीनवटा भेण्टिलेटर राखिएको छ ।

५० शैय्याको अस्पताललाई आवश्यकता अनुसार ७० शैय्याको बनाउन सकिने आचार्यले बताउनुभयो । कोरोना संक्रमितको उपचारका लागि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लेबल ३ को अस्पतालको रुपमा विकास गरिएको छ ।

अस्पतालमा प्रदेश १ र २ का गम्भीर प्रकृतिका कोरोना संक्रमितको उपचारका लागि प्रयोग गरिने भट्टराईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button