Tune to BFM 91.2|Biratnagar

कोशी अस्पतालका बिरामीका कुरुवालाई निःशुल्क खाना

विराटनगर, १५ असोज । तीव्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिएर आक्रान्त बनिरहेको विराटनगरमा चिकित्सक र स्वास्थ्यकर्मी मात्रै सदस्य रहेको लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले उदाहरणीय काम गर्न थालेको छ ।

क्लबले कोशी अस्पतालमा उपचाररत बिरामीका कुरुवालाई निःशुल्क खाना खुवाउन थालेको छ । साथै अनलाइनमार्फत सबैमा कोरोना सम्बन्धी सचेतना अभियान पनि सञ्चालन गरेको छ । निःशुल्क खानाले कोरोना महामारीका बेला अस्पताल भर्ना भएर विभिन्न रोगको उपचार गराइरहेका बिरामीका कुरुवालाई पीडामा मलम लगाउने काम गरेको छ ।

क्लबका संस्थापक अध्यक्ष डा. बालकृष्ण साहले कुरुवालाई चार दिनदेखि बेलुकाको खाना खुवाउन थालिएको जानकारी दिनु भयो । क्लबका द्धितिय उपाध्यक्ष एवं प्रदेश १ को स्वास्थ्य आपूर्ति महाशाखा प्रमुख शम्भु साहको पहल र संयोजकत्व तथा अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासको सहजीकरणमा निःशुल्क खानाको व्यवस्था गर्न थालिएको हो ।

सरकारी अस्पतालमा गरिब र आर्थिक अवस्था कमजोर भएका बिरामीहरु उपचारका लागि आउने भएकाले उनीहरुका कुरुवासँग किनेर खाने पैसा पनि नहुने गरेको डा. साहको भनाइ छ । डा. साहले टाढाबाट अस्पताल आएका सबैजसो कुरुवाले निःशुल्क खाना खाने गरेको जानकारी दिनु भयो ।

उहाँका अनुसार प्रसूति गराउन ल्याइएका बिरामीका कुरुवाबाट दैनिक वितरण सुरु गरिने खाना एक दिनमा सय जना बढीलाई दिने गरिएको छ । क्लबले प्रत्येक साता अनलाइन माध्यमबाट कोरोना सचेतना अभियान पनि चलाइरहेको छ ।

अभियानमार्फत कोरोना संक्रमणबाट बच्नका लागि अपनाउनु पर्ने सावधानी, मास्क र सेनिटाइजरको प्रयोग लगायतका विषयमा जानकारी दिन थालिएको छ । सचेतना अभियानमार्फत समुदायस्तरमा कोरोना फैलिएको विराटनगरमा संक्रमणबाट बच्न अपनाउनु पर्ने सुरक्षा सावधानीका बारेमा धेरैले जानकारी पाउन थालेका छन् ।

संक्रमण हुँदा नआत्तिन र सावधानी अपनाउन चिकित्सकले आग्रह गर्ने गरेका छन् । संक्रमण भएपछि गर्नुु पर्ने उपचार पद्धतीका बारेमा पनि जानकारी दिने गरिएको डा. साहको भनाइ छ ।

चिकित्सक र स्वास्थ्यकर्मी गरेर २५ जना आवद्ध रहेको क्लब १५ महिना अगाडि स्थापना भएको हो ।

Call Now Button