Tune to BFM 91.2|Biratnagar

गर्भपतन मुद्धामा फैसला भएको २० वर्षपछि पक्राउ

विराटनगर, १६ फागुन । गर्भपतन मुद्दामा फरार रहेका प्रतिवादीलाई मोरङको इलाका प्रहरी कार्यालय पथरीले कैद सजायको फैसला भएको २० वर्षपछि पक्राउ गरेको छ ।

डीएसपी दिलिप गिरी नेत्रृत्वको टोलीले ४५ वर्षीय मुरलीप्रसाद ठाकुरलाई हिजो साँझ पक्राउ गरेको हो । गिरीकाअनुसार मोरङको साविकको वयरवन १ र हालको कानेपोखरी गाउँपालिका–३ घर भएका ठाकुर अदालतले दोषी ठहर गरेपछि २०५६ सालदेखि फरार थिए ।

गर्भपतन मुद्धामा जिल्ला अदालत मोरङले २०५६ साल चैत २० गते ठाकुर विरुद्ध दुई वर्ष कैद सजायको फैसला सुनाएको थियो । त्यसपछि उनी श्रीमती र एक छोरासहित सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीमा गएर बस्न थालेको पाइएको छ ।

सुनसरीको चिमडीबाटै पक्राउ गरेर ल्याएर प्रहरीले फैसला कार्यान्वयनका लागि आज अदालतमा बुझाएको छ । अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ । प्रहरीकाअनुसार ग्रामीण स्वास्थ्य कार्यकर्ताको प्रमाणपत्र लिएका र १० कक्षा मात्रै पढेका ठाकुरले मोरङको हरकपुरमा अवैध क्लिनिक सञ्चालन गरेका थिए ।

उक्त क्लिनिकमा अवैध रुपमा गर्भपतन गराउने काम पनि हुने गरेको पाइएको थियो । औषधि खुवाएर एक विवाहित युवतीको अवैध रुपमा गर्भपतन गराएको जाहेरीका आधारमा उनी विरुद्ध मुद्धा चलाइएको थियो । त्यसपछि भागेर सुनसरी पुगेका उनी त्यहाँ इँटाको व्यापार गरेर बस्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button