गुरु श्रीनिवास आचार्य गोली प्रकरण, प्रहरी प्रमुखलाई नागरिक अभिनन्दन

0
187

विराटनगर, २६ बैशाख । हिन्दु धर्म गुरु श्रीनिवास आचार्यमाथिको गोली प्रहार प्रकरणमा सफल अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याइदिएको भन्दै मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अरुणकुमार बिसीलाई आज विराटनगरमा नागरिक अभिनन्दन गरिएको छ । आफैमाथि गोली प्रहार गर्न लगाएर धार्मिक दंगा भड्काउन खोज्ने श्रीनिवासको योजनालाई असफल बनाउन प्रहरीले ठूलो भूमिका निर्वाह गरेको भन्दै उहाँलाई सयौं सर्वसाधारण र नागरिक अगुवाहरु उपस्थित कार्यक्रममा अभिनन्दन गरिएको हो । एसपी बिसी हिजो नै प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको सिफारिसमा परिसक्नु भएको छ । विराटनगर महानगरपालिका–१४ स्थित जतुवामा रहेको श्री रामजानकी मन्दिर संरक्षण समितिले कार्यक्रमको आयोजना गरेको थियो । जुन ठाउँमा गत चैत २५ गते विहान पौने २ बजे श्रीनिवासमाथि उनकै योजनामा गोली प्रहार गरिएको थियो । स्थानीय नौ जना महिला मिलेर चैत २६ गतेदेखि सोही मन्दिरमै आयोजना गर्न लागेको श्रीमद् भागवतको प्रमुख बाचकका रुपमा निम्ता गरिएका उनीमाथि गोली प्रहार गरिएपछि घटना धर्मसंग जोडिएको भन्दै प्रहरीले गम्भीर रुपमा अनुसन्धान अघि बढाएको थियो । कार्यक्रमका प्रमुख अतिथी एवं प्रदेश सांसद जयराम यादव लगायतले बिसीलाई दोसल्ला र खादा लगाउँदै र सम्मान पत्र दिएर अभिनन्दन गर्नु भएको हो । यादवले घटना सिंगो धार्मिक आस्था र मुलुकमाथिकै प्रहार भएको बताउनु भयो । उहाँले दोषी जो सुकै भए पनि कारवाहीको दायरामा ल्याउन माग गर्नु भयो । मन्दिर संरक्षण समितिका सचिव चन्द्रानन्द यादवले घटनालाई लिएर प्रहरीले हिंसा भड्कन नदिन ठूलो भूमिका निर्वाह गरेको बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here