गोरेसंग बयान लिने क्रम जारी

0
290

विराटनगर, ९ जेठ । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका समन शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसंग बयान लिने क्रम जारी छ । जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा बयानका लागि आज विहान १० बजे गोरेलाई उपस्थित गराइएको थियो । आज बयान नसकिएपछि भोली पुन उपस्थित गराउने गरी उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमै फर्काइएको छ । बयानका क्रममा इजलासमा सामान्य व्यवहार देखाएका उनले मजाले घुलमिल भएरै सोधेका प्रश्नको जवाफ दिएको अदालत स्रोतले बतायो । आज पहिलो दिन गोरेलाई उनको पृष्टभूमि लगायतका बारेमा सोधिएको छ । सुरुमा जिल्ला सरकारी वकिल कार्यालय मोरङले दायर गरेको एक सय ५३ पृष्ठको अभियोगपत्र पढेर सुनाइएको थियो । त्यसपछि बयान लिने काम थालिएको थियो । उनीसंग आज पाँच पृष्ठको बयान लिइएको स्रोतले बतायो । प्रहरी हिरासतमा असुरक्षित महसुस गरेपछि उनको पक्षमा बहस गर्न वकालतनामा दर्ता गराउनु भएका अधिवक्ता यामबहादुर मगरले मानव अधिकारकर्मीको निगरानीमा राख्नु पर्ने माग गर्दै निवेदन दिनु भएको थियो । न्यायाधीश शर्माको इजलासले गोरेका हकमा हिरासतमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन र मानव अधिकारकर्मीको निगरानीमा राख्ने व्यवस्था गर्न आदेस दिएको छ । गृह मन्त्रालयद्धारा गठित छानविन समितिले पक्राउ गरेर गोरेलाई हिजो काठमाडौंबाट विराटनगर पठाएको थियो । हिजै अदालत उपस्थित गराइएका उनको बयान भने आजबाट लिन सुरु गरिएको हो । जिल्ला अदालत मोरङले सुन तस्करी र शाक्य हत्यामा मुछिएका २८ अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न हिजै आदेस गरिसकेको छ । मुख्य अभियुक्त गोरे अदालतमा बयान दिइरहेका छन् भने ६३ अभियुक्त मध्ये ३२ जना अझै फरार रहेका छन् । गोरेको बयान सम्भवत भोली सकिने अदालतले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here