घरेलु भलिबलका गतिविधि ३ महिना ठप्प
विराटनगर, २५ साउन । घरेलु भलिबलका गतिविधि कम्तीमा तीन महिना ठप्प हुने भएको छ । कोरोना संक्रमणका कारण नेपाल भलिबल संघले खेलकुद गतिविधि कम्तिमा थप तीन महिना ठप्प हुने बताएको हो ।
लकडाउनलाई खुकुलो बनाएको सरकारले अन्तराष्ट्रिय प्रतियोगिताको तयारीका लागि अभ्यास गर्न अनुमती प्रदान गरेको छ । सोही अनुसार राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ गतेबाट सुरु हुदैछ । तर नेपाल भलिबल संघले कोरोना महामारीका कारण आगामी तीन महिना आफ्ना कुनै कार्यक्रम नभएको बताएको छ ।
संघका महासचिव जितेन्द्र चन्दले कोरोना कहरले संघका कुनै कार्यक्रम नभएको र भलिबल गतिविधि अझै तीन महिना ठप्प हुने बताउनुभयो । कोरोनाको संक्रमण बढेसंगै विभिन्न खेलकुद संघले खेलाडीलाई मैदान फर्काउने कार्यक्रम स्थगित गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले भदौ १ गतेबाट सुरु गर्ने प्रशिक्षणको कार्यक्रम रद्ध गरिसकेको छ ।
नेपाल भलिबल संघले समेत कोरोनाकै कारण तत्काल कुनै प्रशिक्षणको कार्यक्रम अघि नबढाउने भएको छ । संघले केही समयअघि मात्र प्रतियोगिता आयोजनाका लागि भन्दै एफआईभीभीबाट उच्च स्तरीय म्याट प्राप्त गरेको थियो ।
भलिबल संघ र महासंघको सम्झौता अनुसार नेपालले म्याट प्राप्त गरेसँगै एउटा अन्तराष्ट्रिय खेल खेलाउनु पर्ने सम्झौता पत्रमा उल्लेख थियो । तर कोभिड–१९ को कारण सो प्रतियोगिता खेलाउन नसक्ने अवस्थामा संघ पुगेको छ ।