जंगली हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

विराटनगर, ८ फागुन । मोरङको केराबारी गाउँपालिका–९ बेलचौरीमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट ६३ वर्षीया लेखमाया गुरुङको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो । उहाँका अनुसार हात्तीले महिलालाई आक्रमण गरेको जानकारी प्रहरीलाई आज बिहान मात्रै आएको थियो । परिवारका सदस्यले प्रहरीलाई दिएको जानकारी अनुसार लेखमायाँ हिजो साँझ बारीमा काम गर्न निस्किनु भएको थियो ।

घर नफर्किएपछि खोजी गर्दै जाने क्रममा राति १२ बजे देब्रे खुट्टा भाँचिएको र शरीरका भरी निलडाम भएको घाइते अवस्थामा परिवारका सदस्यले फेला पारेका थिए । तत्काल उपचारका लागि नोबेल शिक्षण अस्पताल ल्याइएकी वृद्धाको उपचारका क्रममा बिहीबार बिहान २ बजे मृत्यु भएको डीएसपी राईले बताउनु भयो । घटना हुनु अघि स्थानीय बासिन्दाले बेलचौरी जंगलमा हात्ती कराएको सुनेका थिए ।

हात्तीको पाइला र हात्तीले खोस्रिएका डोब भेटिएको डीएसपी राईले बताउनु भयो । ‘घटनास्थलको प्रकृति हेर्दा साँझका समयमा बारीमा काम गर्न गएकी महिलालाई हात्तीले उठाएर अलि पर पुर्याएपछि मारेको प्रष्ट हुन्छ ’ उहाँले भन्नु भयो, ‘हात्तीले घटनास्थल वरपर मकै र तोरी बारीमा पनि खाएर क्षति पुर्याएको छ ।

’ स्थानीय बासिन्दाका अनुसार घटनास्थल वरपरको स्थान हुँदै वर्षमा दुई÷तीन पटकसम्म जंगली हात्ती ओहोरदोहोर गरिरहन्छन् । हात्तीले स्थानीय रामबहादुर खड्काको घरमा र वरपर लगाइएको बालीनालीमा पनि सामान्य क्षति पुर्याएको प्रहरीले जनाएको छ । बालीनाली तथा घरमा क्षति पुर्याउँदै मच्चाएको उपद्रो र घटनास्थलको प्रकृति हेर्दा वृद्धाको मृत्यु हात्तीकै आक्रमणबाट भएको पुष्टि हुने डीएसपी राईको भनाइ छ ।

उहाँले वृद्धाको शव पोस्टमार्टमका लागि मंगलबारे अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *