Tune to BFM 91.2|Biratnagar

जीविकोपार्जन गर्ने वर्ग सबैभन्दा बढी प्रभावित

विराटनगर, १५ चैत । लकडाउनका कारण यतिबेला दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने वर्ग सबैभन्दा बढी प्रभावित भएको छ । दिनभरि कमाएर बेलुका हातमुख जोड्ने मजदुर वर्ग काममा जान नपाउँदा भोकभोकै बस्न बाध्य भएका छन् ।

यसैलाई मध्यनजर गरेर विराटनगरका एक दम्पत्तिले विपन्न वर्गका परिवारलाई एक महिनाको खाद्यन्न वितरण गर्ने भएका छन् । विराटनगरका समाजसेवी तथा उद्यमी गिनेन्द्र कार्की र शिल्पा कार्कीले विराटनगरका ५० विपन्न परिवारलाई एक महिनाका लागि खाद्यन्न उपलब्ध गराउने हुनुभएको हो ।

चामल, दाल, तेल, नून, चिनी, आलुलगायत खरिद गर्ने काम भइरहेकाले केही दिनभित्रै वितरण सुरु गर्ने कार्कीले बताउनुभयो । सरकारको मात्रै मुख नताकेर दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दैै आएका वर्गलाई केही सहयोग पुगोस् भनेर खाद्यन्न वितरण गर्न लागिएको उहाँको भनाइ थियो ।

पहिलो चरणमा विराटनगर वडा नम्बर १ का विपन्न परिवारलाई खाद्यन्न वितरण गरिने छ । आवश्यकताअनुसार अन्य विपन्न परिवारलाई पनि खाद्यन्न सहयोग गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । त्यस्तै कार्की दम्पत्तिले लकडाउन अवधिभरिको घरभाडासमेत नलिने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button