जैविक विविधतामा धेरै क्षति पुगेका कारण मानव समुदाय असुरक्षित बन्दै

विराटनगर, २४ जेठ । विश्व वातावरण दिवस, जून ५ को अवसरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जैविक विविधतामा धेरै क्षति पुगेका कारण मानव समुदाय असुरक्षित बन्दै गइरहेको बताएका छन् ।

नेपाल जैविक समाज र स्नातकोत्तर क्याम्पस विराटनगरले संयुक्त रुपमा आयोजना गरेको सो भर्चुअल कार्यक्रममा सम्बन्धित क्षेत्रका विज्ञहरुले जैविक विविधता क्षयीकरण भइरहेका कारणले संक्रामक रोगहरुको प्रकोप बढेको औँल्याए ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेशप्रसाद पोखरेलले मानिसले प्रकृतिमाथि गरेको दोहनका कारण प्रकृतिले मानिस माथि धावा बोलेको छ र सोको प्रमाणस्वरुप कोभिड १९ आएको बताउनुभयो ।

सन्तुलित वातावरण,विकास र अर्थव्यवस्थाको सन्तुलित समन्वय नभए वातावरण बिग्रिने अनि त्यसको असरको सामना मानिसले गर्नुपर्ने अवस्था आउने उहाँको तर्क थियो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै वातावरणका जानकार, पत्रकार रामचन्द्र अधिकारीले रैथाने प्रजातिको लोप तिव्र गतिमा भइरहको कारणले यस्ताको संरक्षण आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयोे– अरु जीवजन्तुको विनाश हुनु भनेको मानिस जोखिममा पर्नु हो किनभने जति विनाश बढ्छ संक्रामक रोगको प्रकोप उति बढ्छ । विभिन्न महामारीहरु जैविक विविधताको नाशकै कारणले पनि उब्जाएको हुनाले मानिसको जीवनशैली,खानपान र प्रकृतिमाथिको औधि प्रयोगमा नियन्त्रण गर्नुपर्न उहाँको राय थियो ।

कार्यक्रममा गोपाल पोखरेल, नारायण रेग्मी, जीवन गुरुङ, ललितनारायण मण्डल लगायतले धारणा राख्नु भएको थियो ।

अनलाईन संवादमा केन्द्रीय प्रविधि क्याम्पस धरानका प्रमुख डा. दिलकुमार लिम्बू, मेची क्याम्पस भद्रपुरका सहायक क्याम्पस प्रमुख डा कृष्णप्रसाद भट्टराई, स्नातकोत्तर क्याम्पसका पूर्व प्रमुख डा.मनोज राउत, प्राणीशास्त्र विभाग प्रमुख प्राडा दामोदर थापा, वनस्पति शास्त्र विभाग प्रमुख प्राडा उमेश कोइराला,पूर्वाञ्चल विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्राडा मीनराज ढकाल, महेन्द्र मोरङ क्याम्पस वनस्पति विभाग प्रमुख ललितनारायण,प्राडा टीएन मण्डल,प्राडा शिव राई लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button