टाँडीको क्वारेन्टाइन सारेर आजदेखि गोठगाउँ बाट सञ्चालन
विराटनगर, २९ वैशाख । नेपाली सेनाले मोरङको मिक्लाजुङ गाउँपालिका–४ टाँडीबाट क्वारेन्टाइन सारेर सुन्दरहरैँचा नगरपालिकाको गोठगाउँस्थित पूर्वाञ्चल विश्व विद्यालयबाट आजदेखि सञ्चालन गर्न थालेको छ ।
सेनाको सूर्यदल गणले प्रभावकारी तरिका र दीर्घकालिन हिसाबले लामो समयसम्म चलाउन टाँडीबाट उठाएर क्वारेन्टाइन गोठगाउँ सारेको हो । सेनाको क्वारेन्टाइन अन्य भन्दा निक्कै सुविधा सम्पन्न र व्यवस्थित मानिन्छ ।
सूर्य दल गणका प्रमुख सेनानी रघु पौडेलले टाँडीमा टेन्ट टाँगेर अस्थायी हिसाबले बनाइएको क्वारेन्टाइन गोठगाउँ सारेर विश्व विद्यालयको संचरनाबाट सञ्चालन गर्न थालिएको जानकारी दिनु भयो ।
जंगलको छेउमा रहेको क्वारेन्टाइनमा मौसम परिवर्तनले पनि नियमित असर गरिरहेकाले लामो सयमसम्म सञ्चालन गर्न सक्ने अवस्था नबनेका कारण सारेर सुरक्षित ठाउँमा ल्याइएको पौडेलले बताउनु भयो । यही वैशाख ८ र ९ गते वर्षासँगै चलेको हावाहुरीले क्वारेन्टाइनमा ठूलो क्षति गरेको थियो ।
कोरोना भाइरस संक्रमणको आशंका गरिएकाहरुलाई राख्नका लागि चैत १० गतेबाट टाँडीमा दुई सय जना क्षमताको क्वारेन्टाइन सेनाले सञ्चालनमा ल्याएको थियो । यो क्वारेन्टाइनमा बस्नेको संख्या यस अघि एक सय ५६ जनासम्म पुगेको थियो । तर गोठगाउँ सारिएको क्वारेन्टाइन एक सय ३५ जना क्षमताको मात्रै छ ।
परीक्षणबाट कोरोना रिपोर्ट नेगेटिभ आएकाले सबै जनालाई घर पठाइएसँगै अहिले क्वारेन्टाइन पूरै खाली छ । ‘पहिले पनि क्वारेन्टाइनमा बस्नेको संख्या क्षमता भन्दा कम नै थियो,’ प्रमुख सेनानी पौडेलेले भन्नु भयो, ‘अहिले क्वारेन्टाइनमा कोही पनि नभएकाले बेड संख्या घटाएर थप व्यवस्थित ढंगले क्वारेन्टाइन चलाउने प्रयास गरिएको हो ।’
परीक्षणबाट कोरोना नेगेटिभ देखिएकाहरुलाई क्वारेन्टाइनबाट विदा दिएर होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउने गरिएको जानकारी प्रमुख सेनानी पौडेलले बताउनु भयो ।