ढुँगा र बालुवा तस्करी रोक्न कडाई

0
304

 

विराटनगर, ४ माघ । ढुँगा र बालुवाको तस्करी बढ्दै गएको पाइएपछि मोरङका खोलानालामा प्रहरीले कडाई गर्न थालेको छ । तस्करीमा संलग्नले वन क्षेत्रका खोलामा ट्रयाक्टर र ट्रिपरनै हालेर अवैध रुपमा ढुँगा, बालुवा उत्खनन् र ओसारपसार गर्न थालेपछि प्रहरीले सक्रियता बढाएको हो । निजी र चुरे क्षेत्रबाट बालुवा र ढुँगा तस्करी रोक्न इलाका प्रहरी कार्यालय बेलबारी, पथरी, उर्लाबारी, लेटाङ र केरावारीबाट प्रहरीको भिन्दाभिन्दै टोली परिचालन गरिएको छ । टोलीले बढी मात्रमा तस्करी हुने गछिया, खदम, बक्राहा, चिसाङ, बुढी, डाँस, मावा, नुनसरी, लोहन्द्रा लगायतका दर्जनौ खोलामा निगरानी बढाइएको जनाएको छ । विशेष गरेर यी खोलाको ढुँगा र बालुवा स्तरिय हुने भन्दै तस्करको आँखा पर्ने गरेको प्रहरीको बुझाई छ । खोलामा निगरानी बढाएर त्यहाँबाट हुने अवैध उत्खनन् र तस्करी रोक्ने मुख्य जिम्मेवारी दिएर प्रहरीको अलगअलग टोली परिचालन गरिएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताउनु भयो । ‘मुख्य चार, पाँचवटा खोलामा तस्करीमा संलग्नले आँखा गाड्ने गरेको पाइयो,’ उहाँले भन्नु भयो, ‘ती खोलालाई प्रहरीले आफ्नो घेरामा राखेर अवैध ओसारपसार हुनबाट रोकिरहेको छ ।’ कसैले बालुवा र ढुँगा तस्करी गरेर लैजान खोजेमा तत्काल नियन्त्रणमा लिएर कारवाही अघि बढाउन सबै प्रहरी युनिटलाई निर्देशन समेत दिइसकेको बिसीले बताउनु भयो । खोलाबाट हुने तस्करी नियन्त्रणका लागि ठाउँठाउँमा प्रहरीले विशेष अप्रेशन नै चलाएको छ । मोरङका खोलाका बालुवा र ढुँगा भारततर्फ तस्करी हुने गरेको छ । प्रहरीले लेटाङ नगरपालिका ३ सुकेचौरी स्थित चिसाङ खोलाबाट अवैध रुपमा ढुँगा उठाउँदै गर्दा हिजो सातवटा ट्रयाक्टरलाई नियन्त्रणमा समेत लिएको छ । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक खगेन्द्र खड्काका अनुसार १ को २ त ४४४६, को २ त ७५६७, मे १ त ३३३९, को २ त ५५४९, मे १ त ४१८०, को १ त ६४०२ र को १ त ६९०४ नम्बरको ट्रयाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here