Tune to BFM 91.2|Biratnagar

तस्करलाई पक्राउ गर्न विराटनगरमा हवाई फायर

विराटनगर, ७ मंसिर । अवैध रुपमा भारतबाट सामान लिएर आएको समूहलाई नियन्त्रणमा लिन प्रहरीले आज बिहान विराटनगरमा एक राउण्ड हवाई फायर गरेको छ । नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका–१७ मटेरुवामा बिहान ४ बजेतिर प्रहरीले हवाई फायर गरेर सामान तस्करीमा संलग्न एक महिलालाई नियन्त्रणमा लिएको छ ।

भारतबाट तस्करी गरेर ल्याइएको कम्मरमा लगाउने एक बोरा बेल्ट (पेटी)सहित ३३ वर्षीया रविना खातुनलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनु भयो । पक्राउ परेकी महिलाविरुद्ध कारबाही अघि बढाउन थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । महिलाले दिएको सूचनाका आधारमा घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी र तस्कर समूहबीच दोहोरो घम्साघम्सी हुँदा एक जना प्रहरी जवानको हातको औंलामा चोट लागेको एसपी खड्काले बताउनु भयो । भन्सार छली गरेर भारतबाट अवैध रुपमा तस्करीका सामान लिएर आउँदै गरेको तस्कर समूहलाई सादा पोसाकमा खटिएको प्रहरी टोलीले रोक्न खोज्दा केही बेर अवस्था तनावपूर्ण बनेको थियो । सादा पोसाकमा रहेको टोलीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा हुलहुज्जत गरेर १०÷११ जनाको संख्यामा रहेका तस्करको समूहले अवरोध पुर्याएपछि हवाई फायर गरिएको खड्काले बताउनु भयो ।

उहाँका अनुसार तस्करीको सामान नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण हुन थालेपछि पेस्तोलबाट एक राउण्ड हवाई फायर गरिएको हो । हवाई फायर गरेपछि तस्कर समूह तितरवितर भएको जानकारी खड्काले दिनु भयो । खड्काले नेपालबाट भारत र भारतबाट नेपालतिर हुने तस्करी नियन्त्रण गर्न नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाएर कडाई थालिएको बताउनु भयो ।

अवैध ओसारपसार र तस्करी नियन्त्रणमा लिन सीमा क्षेत्रमा विशेष टोली परिचालन गरेर ‘स्वीप अप्रेशन’ सञ्चालन गरिएको उहाँको भनाइ छ । नेपालबाट भारततिर मरिच, मटर, सुपारी लगायतको तस्करी हुँदै आएको छ । भारतबाट नेपालतिर लत्ताकपडा, तेल, चिनी लगायत दैनिक उपभोग्य वस्तुको तस्करी हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button