तस्करी रोक्न भन्सारको ढाटमा प्रहरीको दरपिठ

0
51

विराटनगर, १४ भदौ । विराटनगर भन्सार नाकाबाट हुने तस्करी नियन्त्रण गर्नका लागि प्रहरीले दरपिठ गर्न थालेको छ । भारतबाट सामान किनेर आउने सबैले राजश्व बुझाउने क्रममा भन्सारले उपलब्ध गराएको प्रज्ञापन पत्रको पछाडि पट्टी प्रहरीले मिति र समय उल्लेख गरेर दरपिठ गरिदिन थालेको हो । सीमा प्रहरी चौकीका नायव निरीक्षक दीपक यादव र इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोश निरौलाले दरपिठको प्रचलन बसाउनु भएको हो । भन्सार नाकाबाट एउटै प्रज्ञापन पत्र देखाएर तस्करीमा संलग्नले बारम्बार सामान ओसारपसार गर्न थालेको सुइँको पाएको प्रहरीले नाकामा कडाई गर्दै सामान ल्याउँदा राजश्व बुझाए बापत भन्सारले उपलब्ध गराउने गरेको प्रज्ञापन पत्रमा मिति र समय उल्लेख गरिदिने गरेको छ । ‘तस्करीमा संलग्नले विहान काटेको एउटै प्रज्ञापन पत्र देखाएर दिनभर सामान ओसारपसार गर्दा रहेछन्,’ निरौलाले भन्नु भयो, ‘तस्करी नियन्त्रणका लागि प्रज्ञापन पत्रमा समय र मिति उल्लेख गरिदिन थालिएको छ ।’ एउटै प्रज्ञापन पत्रमा पटक पटक ओसारपसार गर्न नसकुन् भने प्रज्ञापन पत्रमा दरपिठ गरिदिन थालिएको उहाँले बताउनु भयो । तस्करी रोक्नका लागि यस अघि भन्सार कार्यालयले दोहोरो जाँचपासको व्यवस्था समेत गरेको थियो । भन्सार प्रमुख कृष्ण बस्नेतका अनुसार दोहोरो जाँचपासको व्यवस्था गरिएपछि एउटै प्रज्ञापन पत्रको प्रयोग गरेर बारम्बार सामान ओसारपसार गरेर तस्करी गर्न थालेको पाइएको छ । ‘भन्सारको ढाटमा प्रहरीले कडाई थालेसंगै दिनभर सामान ओसार्न एउटै प्रज्ञापन पत्रको प्रयोग हुने गरेको पाइयो,’ उहाँले भन्नु भयो, ‘प्रज्ञापन पत्रमै प्रहरीले दरपिठ गरिदिन थालेपछि भने तस्करी गर्नेहरु हच्किएका छन् ।’ बस्नेतले प्रहरीले प्रज्ञापन पत्रको पछाडि पट्टी समय र मिति उल्लेख गरिदिंदा तस्करी गर्न खोज्नेले त्यही प्रज्ञापन पत्रको प्रयोग गरेर अर्को पटक सामान ल्याउन नसक्ने बताउनु भयो । मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बारम्बार सामान ओसारपसारमा प्रज्ञापन पत्र भने एउटै हुने गरेको पाइएपछि त्यसलाई नियन्त्रण गर्दै भन्सार नाकाबाट हुने तस्करी निमिट्यान्न पार्न निर्देशन दिइएको बताउनु भयो । उहाँका अनुसार तस्करीमा संलग्नले प्रत्येक दिन विहान एउटा प्रज्ञापन पत्र काट्दा रहेछन् र त्यसैलाई प्रयोग गरेर दिनभर सामान ओसारपसार गर्दा रहेछन् । भारतबाट नेपालतर्फ भित्रने फलफुल, माछा, गाडीका पार्टपूर्जा, कपडा, चिनी, काजु, किसमिस तथा खाद्यान्न तस्करीमा संलग्नले एउटा प्रज्ञापन पत्र देखाएर दिनभर ओसारपसार गर्ने गरिएको पाइएपछि कडाई थालिएको प्रहरीले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here