दसैं शुरु भएसँगै मोरङको सुरक्षा व्यवस्था कडा

विराटनगर, २ कात्तिक । दसैं शुरु भएसँगै विराटनगर लगायत मोरङको सुरक्षा व्यवस्था कडा पारिएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढिरहेका बेला सुरु भएका चाडपर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन मोरङमा एक हजार दुई सय ३३ जना प्रहरी परिचालन गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनुभयो ।

सुरक्षा कडाई गर्दै एसपी खड्का आफै फिल्डमा निस्किएका छन् । उनले विगतमा भएका घटना एवं अपराधिक गतिविधीको विश्लेषण गरेर सुरक्षा व्यवस्था चुस्त बनाउने हिसाबमा काम भइरहेको खड्काले बताउनुभयो । विगतमा चाडपर्वका बेला भएका आपराधिक गतिविधी र यस वर्ष हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेर लगेको हो । बैंक, वित्तिय संस्था एवं आर्थिक गतिविधी हुने ठाउँ, महत्वपूर्ण प्रतिष्ठानहरु तथा सार्वजनिक स्थलमा प्रहरी उपस्थिति बढाइएको छ ।

सुनचाँदी पसल, सरकारी तथा गैर सरकारी कार्यालय, एटीएम बुथ, सार्वजनिक स्थल र पसलहरुमा २४ घण्टानै प्रहरीले सुरक्षा प्रदान गर्न थालेको एसपी खड्काले जानकारी दिनुभयो । चाडपर्वका बेला आर्थिक गतिविधी धेरै हुने हुँदा चोरी, लुटपाट र डकैती हुनसक्ने सम्भावनालाई मध्यनजर गरेर सुरक्षा व्यवस्था मजवुत बनाइएको उहाँको भनाइ छ ।

जुवा, तास लगायत गैह्र कानुनी खेलहरु र शान्ति भड्काउनेसमूहलाई पूर्ण रुपमा नियन्त्रणमा लिइने नीति प्रहरीले बनाएको छ । एसपी खड्काका अनुसार उद्योग, कलकारखाना, महत्वपूर्ण प्रतिष्ठान, लोकमार्ग तथा अन्य सहायक राजमार्गको सुरक्षा अवस्थामा कुनै कमी आउन नदिइ होटल, लज एवं रेष्टुरेन्टको नियमित चेकजाँचको व्यवस्था मिलाएर काम थालिएको छ । विराटनगर क्षेत्रभित्र रहेका १४ वटा महत्वपूर्ण प्रतिष्ठानमा सुरक्षा प्रदान गर्न ९६ जना प्रहरीको अलग–अलग टोली परिचालन गरिएको छ ।

दशैं, तिहार, छैठ लगायतका चाडपर्वलाई लक्षित गरेर यसअघि नै मोरङ प्रहरीले विशेष ढंगले सुरक्षा योजना तयार पारेर लागू गर्दै सबै ठाउँको सुरक्षा व्यवस्था मजवुत बनाएर लगेको छ । सीमा अपराध नियन्त्रणका लागि भारतीय ‘काउण्टर पार्ट्स’सँगको समन्वय र सहकार्यलाई पनि प्रहरीले महत्व दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button