Tune to BFM 91.2|Biratnagar

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि कोशी अस्पतालको ओपीडी विभाग बन्द

विराटनगर, १५ साउन । विराटनगरको कोशी अस्पतालमा कार्यरत थप दुई जना स्वास्थ्यकर्मीमा आज कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको ओपीडी (बहिरंग) विभागको सेवा बन्द गरिएको छ ।

कोशीकै ल्याबमा परीक्षण गर्दा ओपीडी विभागकी इन्चार्ज रहेकी नर्सिङ स्टाफ र नाक, कान तथा घाँटी रोग विभागमा कार्यरत पारमेडिक्समा संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बताउनु भयो ।

उहाँकाअनुसार अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या थपिँदै गएपछि अनिश्चितकालका लागि ओपीडीबाट प्रदान गरिँदै आएका सेवा बन्द गर्नु परेको हो । अर्को सूचना जारी नहुनजेलसम्मलाई सेवा बन्द गरिएको उहाँको भनाइ छ ।

कन्ट्रयाक ट्रेसिङ गर्न, सेनिटाइज गर्न र अन्य स्वास्थ्यकर्मीको कोरोना जाँच गर्नलाई सूचना जारी गरेर नै सेवा बन्द गरिएको दासले बताउनु भयो । अस्पताललाई सुरक्षित बनाउन र अरुमा संक्रमण फैलन नदिन अहिले औषधि छिट्ने काम सुरु गरिएको दासले बताउनु भयो ।

अस्पतालमा दैनिक एक हजार दुई सय बढी उपचार र स्वास्थ्य परीक्षणका लागि आउने गरेका थिए । दासले परीक्षणका लागि ओपीडीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको स्वाब संकलन गर्ने काम पनि भइरहेको जानकारी पनि दिनु भयो ।

यस अघि अस्पतालमा कार्यरत एक चिकित्सक र एक जना नर्सिङ स्टाफमा कोरोना देखिएको थियो । हालसम्म अस्पतालमा कार्यरत रहेका चार जना स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button