दुर्घटनामा दुई जनाको मृत्यु

0
198

विराटनगर, २ फागुन । मोरङका अलगअलग स्थानमा गयराति भएका सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका ७ मा कारको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । साईकलमा यात्रा गरिरहेका सुन्दरहरैंचा ३ का ७२ वर्षीय विष्णु शुब्बालाई पश्चिमतर्फ जाँदै गरेको बा १८ च २२४० नम्बरको कारले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका शुब्बाको उपचारका क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालले बताउनु भयो । ठक्कर दिने कार र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । त्यस्तै मोरङको धनपालथान गाउँपालिका ६ स्थित रंगेली–विराटनगर सडक खण्डमा नम्बर नखुलेको ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । ट्रयाक्टरको ठक्करबाट को १० प ९६३९ नम्बरको मोटरसाइकलको पछाडि सवार मोरङ सुनवर्षी नगरपालिका २ अमरदह का मनिष सुवेदीको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । दुर्घटनामा घाइते भएका सुवेदीको उपचारका लागि विराटनगरतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक विराटनगर महानगरपालिका ३ बरगाछीका २२ वर्षीय आशित भगतको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि फरार रहेको ट्रयाक्टर र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here