Tune to BFM 91.2|Biratnagar

दुर्घटनामा वृद्धको मृत्यु, सवारी साधनको पहिचानमा कठिनाई

विराटनगर, १३ साउन । मोरङको बेलबारी नगरपालिका–९ डाँगीहाटस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी साधनको ठक्करबाट मृत्यु भएको अवस्थामा एक वृद्धको शव फेला परेको छ ।

बेलबारी–९ का ८२ वर्षीय काँशीराम श्रेष्ठको शव भेटिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताउनु भयो । घटनास्थलमा अचेत अवस्थामा भेटिएका वृद्धलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृत घोषित गरेको हो ।

प्रहरीले वृद्धलाई राजमार्गमा हिजोसाँझ ७ः३० बजेतिर अचेत अवस्थाम भेट्टाएको थियो । घटनाको प्रकृति हेर्दा र घटनास्थलमा गाडीले ब्रेक लगाएको डाम भेटिएका कारण सवारी साधनकै ठक्करले दुर्घटना भएको निस्कर्षमा प्रहरी पुगेको छ ।

तर हालसम्म फरार रहेका कारण दुर्घटना गराउने सवारी साधनको पहिचान हुन सकेको छैन । साँझ परिसकेका बेला घटना भएको र भीषण वर्षा पनि भइरहेका कारण दुर्घटना गराउने सवारीको पहिचान गर्न प्रहरीलाई मुस्किल परिरहेको हो ।

दुर्घटना गराउने सवारी साधनको खोजी तीव्र पारेर घटनाको अनुसन्धान सुरु गरिएको प्रनि ढकालले बताउनु भयो ।

घटनास्थल सशस्त्र प्रहरी बलको वेश क्याम्पबाट लगभग दुई सय मिटर पूर्वमा पर्छ । शव पोस्टमार्टमका लागि धरानमै राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button