धनकुटा अस्पताल भोलीेदेखि सञ्चालन गर्ने निर्णय

विराटनगर, १० जेठ । धनकुटा जिल्ला अस्पताल भोलीेदेखि सञ्चालन गर्ने निर्णय गरिएको छ । गत जेठ ४ गते धनकुटा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जेठ ५ गतेसामाजिक विकास मन्त्री जीवन घिमिरे सहित प्रदेशसभासद् , धनकुटा नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतका सरोकारवालाहरुको बैठकले जिल्ला अस्पताल सिल गर्ने निर्णय गरेको थियो ।

धनकुटाको अवस्था अहिले सामान्य तर्फ उन्मुख रहेकाले आईतबारदेखि अस्पताल सञ्चालन गर्ने निर्णय भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो । जिल्ला अस्पताल सिल गरिएपछि सामाजिक विकास मन्त्रालयले प्रदेश १ स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहताको नेतृत्वमा धनकुटा अस्पतालको स्थलगत अध्ययन, कन्ट्याक ट्रेसिङ, टेष्टिङ, सिल गरिएको अस्पताल संवन्धि कार्ययोजना तय गर्न टोली पठाएको थियो ।

टोलीको सुझाव अनुसार सामाजिक विकास मन्त्री घिमिरे सहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. गुणराज लोहनी, स्वास्थ्य सेवा विभागका इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बासुदेव पाण्डे, प्रदेश १ स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहता, सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख डा. मेहता, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका महामारी रोग विज्ञ डा.प्रज्वल प्याकुरेल, जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरीटेन्डेन्ट डा. पुजन विश्वकर्मा, जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाई,विश्व स्वास्थ्य संगठनका प्रतिनिधि हरिकृष्ण भट्टराई सहितको अनलाईन बैठकले धनकुटा अस्पताल पुर्ववत रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

अस्पताल सञ्चालनका लागि आवस्यक जनशक्ति सामाजिक विकास मन्त्रालयको संयोजनमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र स्थानीय तहबाट उपलब्ध गराउने निर्णय भएको प्रवक्ता डा. मेहताले बताउनुभयो । धनकुटामा हिजो सम्म १ सय ८० जनाको स्वाव संकलन गरिएको छ । स्वाव संकलन गरिएका मध्ये ७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितहरुको अहिले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button