धर्मगुरु श्रीनिवासाचार्य पक्राउ, आफैँले गोली हान्न लगाएको खुलासा

0
136

विराटनगर, २४ बैशाख । हिन्दु धर्मगुरु श्रीनिवासाचार्यमाथि गोली प्रहार भएको घटना उनकै योजनामा बनाइएको रहस्य खुलेको छ । देशमा हिन्दु धर्म कायम गर्ने वातावारण बनाउन भन्दै श्रीनिवासाचार्य आफैँले आफूलाई गोली हान्न योजना बनाएको कुरा प्रहरी अनुसन्धानबाट खुलेको हो । गत चैत २५ गते विहान १ः४५ बजे विराटनगरमा भएको गोली प्रहारको घटना अनुसन्धानका क्रममा प्रहरीले श्रीनिवासाचार्यलाई काठमाडौँको विमानस्थल आसपासको क्षेत्रबाट आज पक्राउ गरेको छ । पक्राउ परेका निवाचार्यलाई प्रहरीले आज विराटनगर पनि ल्याएको छ । गुरुकै योजनामा गोली हान्ने र पेस्तोल उपलब्ध गराउने दुई युवालाई पनि पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको छ । विराटनगर महानगरपालिका–१४ स्थित जतुवामा रहेको श्री रामजानकी मन्दिर परिसरमा लाग्ने श्रीमदभागवत सप्ताह पुराणका लागि मूख्य बाचकका रुपमा आएका बाराको सिमरा उपमहानगरपालिका–३ घर भई हाल सुनसरीको बराह नगरपालिका–६ स्थित चक्रघट्टीस्थित लक्ष्मी बैंकटेशको आश्रममा बस्ने २४ वर्षीय श्रीनिवासाचार्यमाथि गत चैत २५ गते विहान गोली प्रहार भएको थियो । गोली प्रहार गर्ने चितवनको साविक भरतपुर महानगरपालिका ४ बेलचोकका २९ वर्षीय माधव चौधरी र नवलपरासी गैंडाकोट नगरपालिका ५ का ३२ वर्षीय खान र सन्तोश भनिने लक्ष्मीराज अधिकारी पक्राउ परेका छन् । चौधरीले गोली प्रहार गरेको र अधिकारीले चौधरीलाई गोली र पेस्तोल उपलब्ध गराएको प्रहरी अनुसन्धानले देखाएको छ । दुबै जना विरुद्ध बैशाख २० गतेबाट लागू हुने गरी जिल्ला अदालत मोरङबाट ज्यान मार्ने उद्योग मुद्धा चलाउन सात दिनको म्याद थप गरेर बाँकी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताउनु भयो । गुरुकै योजनामा अधिकारीले पेस्तोल उपलब्ध गराएपछि चौधरीले गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको जानकारी उहाँले दिनु भयो । गुरु श्रीनिवासाचार्य, चौधरी र अधिकारीलाई प्रहरीले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर आज सार्वजनिक पनि गरेको छ । गुरुसंग घटनाका विषयमा बुझ्ने काम भइरहेको बताउँदै प्रहरीले मुद्धा दर्ता गर्ने तयारी गरेको छ । एसपी बिसीले गुरु विरुद्ध कुन मुद्धा चलाउने भन्ने विषयमा सरकारी वकिल कार्यालयसंग समन्वय गर्ने काम भइरहेको बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here