Tune to BFM 91.2|Biratnagar

निजी विद्यालयका सञ्चालकहरु सरकारसँग असन्तुष्ट

विराटनगर, ३१ असार । सरकारसँग असन्तुष्ट निजी विद्यालय सञ्चालकहरुले अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेका छन् । प्याब्सन, एनप्याब्सनले बिहीबारदेखि देशभर अनलाइन र दूरशिक्षाको पठनपाठन रोक्ने जनाएका हुन् ।

विद्यालय सञ्चालन गर्न आर्थिक र व्यवसायिक संकट परेको कारण साउन १ गतेदेखि शैक्षिक सिकाई क्रियाकलाप स्थगन गरिएको प्याब्सन, एनप्याब्सनले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

शिक्षक, कर्मचारीलाई समेत बेतलबी घर बिदामा राख्ने निर्णय पनि गरिएको छ । सरकारले घोषणा गरेसँगै निजी विद्यालयहरुले पनि अनलाइन, रेडियो र टेलिभिजनका माध्यमबाट असार १ गतेदेखि वैकिल्पक कक्षा सञ्चालन गर्दै आएका थिए ।

विद्यार्थी भर्ना गरेर वैकल्पिक कक्षाको न्युनतम शुल्क लिनु पाउनुपर्ने माग उनीहरुको थियो । शिक्षा मन्त्रालयले आफ्ना मागहरुलाई बेवास्ता गरेका कारण विद्यालय बन्द गर्ने निर्णय लिनुपरेको पदाधिकारीहरुले बताएका छन ।

सरकारले भौतिक उपस्थितिमा नै विद्यालय र पठनपाठन सुचारु गर्ने निर्णय गरेपछि मात्रै कक्षा सञ्चालन गरिने प्याब्सन, एनप्याब्सनले प्रष्ट पारेका छन् । साथै विद्यालय खुलेपछि मात्रै २०७७ बैशाखदेखि असारसम्मको तलब सुविधा शिक्षक कर्मचारीलाई प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

चैत ५ गतेदेखि विद्यालय बन्द भएका कारण अधिकांश निजी विद्यालयले शिक्षक कर्मचारीलाई तलब दिएका छैनन् । प्याब्सन अध्यक्ष टिकाराम पुरी र एनप्याब्सन अध्यक्ष ऋतुराज सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षामन्त्री पोखरेलले निजी विद्यालयको मागलाई वेवास्ता गरेको उल्लेख छ ।

असार मसान्तसम्म प्रतिक्षा गर्दा पनि सरकारले कुनै निर्णय नगरेकाले विद्यालय बन्द गर्न बाध्य भएको पुरीले बताउनुभयो । साउन १ गतेदेखि निजी विद्यालयले कक्षा बन्द गरे पनि शिक्षा मन्त्रालयले सञ्चालन गरेको रेडियो, टेलिभिजन कक्षा भने सुचारु रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button