Tune to BFM 91.2|Biratnagar

निलगाईको बाछो वनलाई बुझाइयो

विराटनगर, ११ मंसिर । मोरङको रंगेली नगरपालिका–३ दौलतपुरमा आज बिहान ११ बजेतिर भेटिएको निलगाईको बाछो भेटिएको छ । भारतबाट चर्दै नेपाल छिरेको निलगाईको बाछो (बहर) अलमलिएर यतै रोकिएको हुनसक्ने अनुमान गरिएको छ ।

बाछो एक वर्षजतिको रहेको बताइएको छ । निलगाई दुर्लभ एवं संरक्षित वन्यजन्तुभित्र पर्ने वनका कर्मचारीहरुले बताए । उर्लाबारीको सव डिभिजन वन कार्यालय मंगलबारेका प्रमुख एवं सहायक वन अधिकृत तारिणी चौधरीले माउसँगै चर्दै भारतबाट नेपाल छिरेको बाछो चर्ने क्रममा अलमलमा परेर यतै रोकिएको हुनसक्ने बताउनु भयो । शिवकुमार मण्डलको पोखरी छेउमा चरिरहेको बेला बाछो स्थानीय बासिन्दाले देखेका हुन् ।

हरिणभन्दै स्थानीयले मार्नलाई नियन्त्रणमा लिने प्रयास गरे पनि तत्काल पुगेको प्रहरीले मार्नलाई रोक्दै जीवितै नियन्त्रणमा लिएर वन कार्यालयलाई बुझाएको छ । बाछो ५० किलो तौल बराबरको रहेको छ । उर्लाबारीको मंगलबारे लगेर बस्ने संरचना तयार गर्दै त्यसलाई सुरक्षितसाथ राखिएको छ ।

चौधरीले बस्नलाई आवश्यक संरचना तयार गरेपछि बाछो संरक्षण र पालनपोषणका लागि पथरीशनिश्चरेमा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समूहको जिम्मा लगाइने जानकारी दिनु भयो । ‘चिसाङ खोलाको किनार हुँदै माउसँग चर्दै बाछो भारततिरबाट मोरङ छिरेको हुनसक्छ,’ उहाँले भन्नु भयो, ‘माउ आएकै ठाउँतिर फर्किए पनि बाछो अलमलमा परेर यतै रोकिएको अनुमान छ ।’ उहाँका अनुसार मान्छे वा अरु कनै जीवलाई देखेपछि माउ तर्सिएर भागेको र बाछो भने भाग्न नसकेर रहेको पनि हुनसक्छ । चौधरीका अनुसार मोरङसहित पूर्वी नेपालमा नपाइने निलगाई भारततिरबाट चर्दै आउने क्रममा मात्रै देखिने गरेको छ । हिउँदको समयमा भारततिर चरण अभाव हुँदा प्राय निलगाई नेपालतिर चर्नलाई छिर्ने गरेको चौधरीको भनाइ छ ।

संरक्षित, दुर्लभ र स्तनधारी वन्यजन्तु निलगाई मार्न कानुनले प्रतिबन्ध लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button