नेकपा प्रदेश १ का अध्यक्षहरुद्धारा पार्टीलाई विभाजनबाट रोक्न माग

विराटनगर, २१ असार । सत्तारुढ नेकपा प्रदेश १ का १४ वटै जिल्ला अध्यक्षहरुले पार्टीलाई विभाजनबाट रोक्न माग गरेका छन् ।

उनीहरुले करिव दुई तिहाईको जनमत सहित इतिहासले दिएको जिम्मेवारीलाई गंभिरतापूर्वक मनन् गर्न आग्रह समेत गरेका छन् । आपसी विवादले पार्टीलाई गंभिर क्षति पुर्याउने भन्दै उनीहरुले चिन्ता व्यक्त गरे ।

पार्टी अध्यक्षहरुले टुटफुट र विभाजन रोक्ने गरि पहल गर्न सिंगो नेतृत्व र आम पार्टी पंक्तिमा पनि आग्रह गरेका छन् । १४ जिल्लाका अध्यक्षहरुले आज विराटनगरमा सामुहिक पत्रकार सम्मेलन गर्दै देशी तथा विदेशी प्रतिकृयावादी षड्यन्त्रलाई परास्त गरि पार्टी एकताको कामलाई पूर्णता दिन माग पनि गरेका छन् ।

पत्रकार सम्मेलनमा पार्टी नेतृत्वलाई पार्टी एकताको मर्म र भावना अनुरुप कदम चाल्न अध्यक्षहरुको आग्रह छ । पत्रकार सम्मेलनमा नेकपा मोरंग अध्यक्ष ऋषिकेश पोखरेलले पार्टी विधान र निर्वाचनमा जनतासँग गरेको प्रतिबद्धतालाई हृदयंगम गरि पार्टी एकतामा जोड दिनुभयो ।

समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक तुल्याउनुपर्ने समयमा आपसी विवादले पार्टीलाई गंभिर क्षति पुर्याउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयोे,‘ अहिलेको समस्याको सही समाधान नभएमा देश र जनताप्रति धोका हुनेछ ।’ पार्टी एकतालाई कमजोर पार्ने कुनैपनि गतिविधि संलग्न नहुन पार्टी सदस्यहरुलाई उहाँले आग्रह गर्नुभयोे ।

१४ जिल्लाका तर्फबाट पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाईने अध्यक्ष पोखरेलले बताउनुभयो ।

पत्रकार सम्मेलनमा नेकपा केन्द्रीय सदस्य गुरु बरालले एकताको विकल्प नभएको बताउनुभयो । उहाँले विवाद बहसहरु पार्टीका विभिन्न कमिटीहरुबाट सुधृढ बनाउँदै लैजानुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button