नेपालमा आजसम्म कोरोना भाइरस बाट ५६ जनाको मृत्यु

विराटनगर, १६ साउन । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट एकैदिन ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्ज महानगरका तीन जनाको गण्डक अस्थायी कोरोना अस्पताल र एकजनाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका—११ का ५६ वर्षिय पुरुष को साउन १५ गते मृत्यु भएको हो । मुटुको रोगी ती पुरुषको आइसियु र भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर—१६ का ३५ वर्षका पुरुषको साउन १५ गते नै गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । साउन ५ गते नीजि क्लिनिक हुँदै तराई अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि गण्डक अस्पताल भर्ना भएका थिए ।

यस्तै वीरगञ्ज २ का ६५ वर्षिय अर्का पुरुषको पनि साउन १५ कोरोनाका कारण मृत्यु भएको प्रवक्ता डा. गौतमले बताउनुभयो । उनको मृत्यु पछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो । यस्तै वीरगञ्ज ११ स्थायी घर भइ ललितपुरको थसिखेल ५ बस्ने महिलाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा निधन भएको प्रवक्ता डा. गौतमले बताउनुभयो । मधुमेहका विरामी ति महिला साउन ६ गते अस्पताल भर्ना भएकी थिइन् ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । सरकारले आज पीसीआर विधिबाट १० हजार ७ सय ६८ नमुना परीक्षण गरेको छ । जसमा २ सय २४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

प्रदेश १ मा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १३, मोरंगमा १२, इलाममा ५ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो ।

झापाको मेचीनगरमा ११ पुरुष २ महिला, विराटनगरमा ६ पुरुष ५ महिला, सुनबर्षीमा १ महिला, इलामको इलाम नगरपालिकामा ५ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा. मेहताले बताउनुभयो ।

प्रदेश १ मा कोरोना सक्रमितको संख्या १ हजार २४ पुगेको छ । प्रदेश १ मा आज ६ सय ५९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

आज परीक्षण गरिएका मध्ये ८ महिला र २३ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button